अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले एशिया कपमा खेलको मर्यादा भंग गरेको भन्दै पाकिस्तानका तीव्र गतिका बलर हारिस रऊफलाई दुई खेलका लागि प्रतिबन्ध लगाएको छ। भारतका कप्तान सूर्यकुमार यादवलाई पनि अनुशासन उल्लङ्घन गरेको भन्दै जरिवाना गरिएको छ।
सेप्टेम्बरमा सम्पन्न प्रतियोगिता क्रममा रऊफले भारतविरुद्ध दुई अलग घटनामा आपत्तिजनक इशारा गरेका थिए। ती दुवै घटनामा खेलको छविमा आघात पुगेको ठहर गर्दै उनलाई ३०–३० प्रतिशत जरिवाना र चार डिमेरिट अंक दिइएको हो। आईसीसीको नियमअनुसार चार डिमेरिट अंक दुई निलम्बन अंक बराबर हुने भएकाले रऊफलाई दक्षिण अफ्रिकाविरुद्धको सिरिजका दुई खेलमा खेल्न नपाउने भएका छन्।
भारतका टी–२० कप्तान सूर्यकुमार यादवमाथि पनि खेलको छविमा नकारात्मक असर पार्ने गरी सार्वजनिक टिप्पणी गरेको आरोप लागेको छ। उनले पहलगाम आतङ्ककारी आक्रमणका पीडित र भारतीय सुरक्षाकर्मीप्रति समर्थन जनाउने क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसका लागि उनलाई म्याच शुल्कको ३० प्रतिशत जरिवाना र दुई डिमेरिट अंक दिइएको आईसीसीले जनाएको छ।
आईसीसीको विज्ञप्तिअनुसार, रऊफले सेप्टेम्बर १४ मा भारतविरुद्धको खेलमा ‘विमान खसाल्ने’ शैलीमा इशारा गरेका थिए। उनले २८ सेप्टेम्बरमा पुनः भारतीय दर्शकहरूतर्फ सोही इशारा दोहोर्याएका थिए। दुवै घटनालाई आईसीसीले खेलको छवि बिगार्ने व्यवहारका रूपमा व्याख्या गरेको छ।
यसैबीच पाकिस्तानका साहिबजादा फरहानले भारतविरुद्ध अर्धशतक पूरा गरेपछि ‘बन्दुक चलाउने’ शैलीमा जश्न मनाएको कारण एक डिमेरिट अंक पाएका छन्। भारतीय बलर जसप्रीत बुमराहलाई पनि फाइनल खेलमा रऊफलाई आउट गरेपछि सोही शैलीमा प्रतिक्रिया जनाएबापत एक अंक थपिएको छ।
तर भारतीय बलर अर्शदीप सिंहमाथि कुनै कारबाही गरिएको छैन। आईसीसीले सबै खेलाडीहरूलाई भविष्यमा खेलमैत्री आचरण र मर्यादामा रहन सचेत गराएको छ।







