झापा।दुबईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ।
टस जितेर फिल्डिङ रोजेको घरेलु टोली युएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन जोड्न सफल भयो।
नेपालको पारीको सुरुवात राम्रो हुन सकेन। ओपनर सुरुवातमै आउट भएपछि टोली दबाबमा परेको थियो। त्यसपछि आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्दै पारी सम्हाले।आसिफ ३४ रनमा रनआउट भए भने भीम सार्की ४८ रन बनाएर आउट भए।
कप्तान रोहितकुमार पौडेल २ रनमा आउट भए भने आरिफ शेखले ३० रन योगदान गरे।दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडेपछि रनआउट हुन पुगे।
अन्तिम तिर कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै ५१ बलमा ४५ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।त्यस्तै सन्दीप लामिछानेले १० बलमा नटआउट १५ रनको योगदान गरे।बलिङतर्फ युएईका जुनइद सिद्धिकी, मुहम्मद जवाहदुल्लाह र ध्रुव परासरले समान दुई–दुई विकेट लिए।
जारी सिरिजमा नेपाल अहिलेसम्म जितविहीन छ। यसअघि अमेरिकाविरुद्धका दुवै खेल र युएईसँगको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो।नेपाल अहिले १२ अंकसहित लिगको सातौं स्थानमा छ भने युएई ८ अंकसहित पुछारमा रहेको छ।







