चितवन, कात्तिक १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै डा. बाबुराम भट्टराई र जनार्दन शर्मालगायत नेताहरूसँग गठबन्धन वा सहकार्यका सम्भावनाहरूमा छलफल थालेको छ।
पार्टी प्रवक्ता मनिष झाले आज जानकारी दिँदै भने, “सुशासनका लागि नयाँ राजनीतिक संस्कार आवश्यक छ। त्यसका लागि नयाँ दलहरूबीच एकता र सहकार्य सम्भावना खुला छ।”
सौराहामा शुक्रबारदेखि सुरु हुन लागेको रास्वपा केन्द्रीय समिति विस्तारित बैठकको पूर्वसन्ध्यामा भएको छलफलमा विभिन्न विकल्पहरू प्रस्तुत भएका थिए — गठबन्धन बनाउने, सँगै निर्वाचनमा जाने, एक अर्कालाई सहयोग गर्ने, वा चुनावमा हस्तक्षेप नगर्ने मोडालिटी अपनाउने।
झा का अनुसार बैठकमा करिब ५१२ जना प्रतिनिधिहरू सहभागी हुनेछन् र आगामी निर्वाचन रणनीति, सिद्धान्त तथा नेतृत्व मोडेलबारे स्पष्ट दिशानिर्देश तय हुने अपेक्षा गरिएको छ।







