भद्रपुर । विश्व स्वतन्त्रता दिवस २०२५ को अवसरमा भद्रपुर साइकल समाजले “टुर दि मेची–महाकाली २०८२” शीर्षकमा देशव्यापी साइकल यात्रा आयोजना गर्ने भएको छ। यात्रा कार्तिक २३ गते बिहान ५ः३० बजे झापाको भद्रपुर–५ स्थित मेची नदी किनारबाट सुरु हुनेछ।
नेपालका पाँच जना साहसी साइकल यात्रीहरूले नेपालको पूर्वी सिमाना मेची नदीदेखि पश्चिमी सिमाना महाकाली नदीसम्मको यात्रा गर्ने तयारी गरेका छन्। भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठका अनुसार यात्राको उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन, स्वस्थ जीवनशैली र वातावरण संरक्षणप्रति जनचेतना जगाउनु हो। साथै साइकल संस्कृतिको विकास र सम्बन्धित कानूनी नीतिगत विषयमा सरकारको ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ।
महामार्ग हुँदै पश्चिमतर्फको यात्रामा सहभागी हुने साइकल यात्रीहरूमा जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतो रहेका छन्। उनीहरूले दैनिक करिब १५० किलोमिटर दूरी तय गर्दै मुख्यतया महेन्द्र राजमार्ग र केही खण्डमा मदन भण्डारी मार्ग प्रयोग गर्नेछन्। यात्राको क्रममा विभिन्न नगरपालिका र शहरका साइकल क्लबहरूसँग भेटघाट र संवाद कार्यक्रम पनि आयोजना गरिनेछ।
भद्रपुर नगरपालिका, हल्दिवारी गाउँपालिका र स्थानीय वडा समितिहरूले यात्रामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै देशभरका सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सञ्चारकर्मीहरूसँग सहयोग र सद्भावका लागि आग्रह गरिएको छ।
त्रिशक्ति चिया उद्योगका सञ्चालक बिनय गोयलले गोल्डरिङ्ग चिया ब्रान्डको तर्फबाट पाँच थान ट्र्याकसुट सौजन्य उपलब्ध गराएका छन्। समाजले यो सहयोगका लागि गोयलप्रति आभार व्यक्त गरेको छ।
भद्रपुर साइकल समाजले यात्राको सम्पूर्ण गतिविधि, फोटो र भिडियोहरू आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दैनिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। साथै यात्राका सहभागीहरूले कपिलवस्तु जितपुरमा बाणगंगा राइडर्स क्लबद्वारा कार्तिक २९ गते आयोजना हुने ७५ किलोमिटर साइकल यात्रामा पनि सहभागिता जनाउने योजना बनाएका छन्।
अध्यक्ष श्रेष्ठले देशभरका नागरिक, संस्था र सञ्चारकर्मीहरूलाई यात्राको सफलताका लागि समर्थन र शुभकामनाको अपेक्षा गरेका छन्। उनले भने, “साझा उद्देश्य, सहयोग र एकतामार्फत यो यात्रा सफल र ऐतिहासिक बन्ने हाम्रो विश्वास छ।”







