चन्द्रगढी ।चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आज सम्पन्न निर्वाचनमा १,८५७ मत खसेको छ।
चार वर्षे कार्यकालका लागि भएको उक्त निर्वाचनमा कुल १,९९५ जना मतदातामध्ये १,८५७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
निर्वाचनमा प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी पाँच जनाले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन्।
अध्यक्ष पदका उम्मेदवारमा नेकपा (एमाले) समर्थित अनुज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित चुडामणि मैनाली, जेनजी युवाहरूको समर्थनमा राजु वराल, र स्वतन्त्र रूपमा रमेश न्यौपाने र पुण्यप्रसाद पोखरेल रहेका छन्।
त्यस्तै, उपाध्यक्षमा ४, सचिवमा ५, सहसचिवमा ५ र कोषाध्यक्षमा ४ जना उम्मेदवार बनेका छन्।
खुला महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
समूहका पाँच वटै क्षेत्रमध्ये वडा नं. २, ५ र ९ का सहसंयोजकहरू निर्विरोध चयन भएका छन् भने अन्य क्षेत्रका संयोजक तथा सहसंयोजक पदमा प्रतिस्पर्धा भएको छ।
झापा जिल्ला भद्रपुर नगरपालिका–९ र १० मा फैलिएको यो सामुदायिक वनमा २,३८३ घरधुरी सदस्य छन्। करिब ४३०.५९ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन समूहले २६ वर्षअघि स्वामित्व लिएको चारआली–निचाझोडा जंगलअन्तर्गत पर्दछ।







