हेमन्त मैनाली ,भद्रपुर । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आयोजना गरेको ऐतिहासिक “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा आज बिहान भद्रपुर–५ मेची पुलबाट शुभारम्भ गरिएको छ।

संक्षिप्त उद्घाटन समारोहपछि सुरु गरिएको यात्रामा पाँच जना साहसी साइकल यात्रीहरू — जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतो सहभागी छन्। उनीहरूले देशको पूर्वी सिमाना मेचीदेखि पश्चिमी सिमाना महाकालीसम्म साइक्लिङमार्फत यात्रा गर्ने योजना बनाएका छन्।

कार्यक्रममा भद्रपुर–झापा गोल्डकपका अध्यक्ष देपेश ढकाल र भद्रपुर नगरपालिकाकी उप–मेयर राधा कार्कीले यात्राको सफलताको शुभकामना दिँदै साइकल यात्रीहरूलाई विधिवत् बिदाई गर्नुभएको थियो।

यात्रालाई सफल बनाउने उद्देश्यले विभिन्न संघ–संस्था र व्यक्तिहरूले आर्थिक सहयोगसमेत प्रदान गरेका छन्।

साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठका अनुसार यात्राको उद्देश्य भद्रपुर र आसपासका पर्यटनस्थलहरूको प्रवर्द्धन, साइकल संस्कृतिको विकास, स्वस्थ जीवनशैली प्रवर्द्धन र वातावरण संरक्षणप्रति जनचेतना जगाउने हो।

उनीहरूले दैनिक करिब १५० किलोमिटर दूरी तय गर्ने योजना बनाएका छन्। श्रेष्ठले भने, “सबैको साथ, सद्भाव र सहयोगले यो ऐतिहासिक ‘टुर दि मेची–महाकाली २०८२’ सफल बन्ने हाम्रो विश्वास छ।”

साइकल समाजले यात्राको सुरक्षित सञ्चालनका लागि देशभरका सुरक्षा निकाय, प्रशासन, ट्राफिक कार्यालय, नेपाली सेना तथा सञ्चारकर्मीहरूसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार