झापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ निर्णय गरेको छ। पार्टीले ४० वर्षमुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत निर्णय गरेको हो।
चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले यो निर्णय गरेको हो। बैठकमा सहभागी सदस्यहरूले युवाको जनसंख्याको अनुपातलाई राजनीतिक अवसरसँग जोड्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै, विदेशबाट फर्किएका नेपालीहरूलाई १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिने पनि बैठकले निर्णय गरेको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“जेनजीको भावना र ऊर्जालाई राजनीतिक निर्णयमा समेट्दै ४० वर्षमुनिका युवालाई जनसंख्याको अनुपातअनुसार प्रतिनिधित्व दिइनेछ। त्यसैगरी, विदेश फर्केका नेपालीहरूलाई पनि उम्मेदवार बन्न समान अवसर दिलाइनेछ।”
- बैठकले प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेकाले पार्टीको आगामी महाधिवेशन मिति ६ महिनासम्म सार्ने निर्णय पनि गरेको छ।चार सय प्रतिनिधिहरूको सहभागिता रहेको उक्त विस्तारित बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ।
बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा, र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
यसैबीच, डा. तोसिमा कार्कीले पार्टी सुधार मार्गचित्रबारे फरक मत प्रस्तुत गरेकी थिइन्।
बैठकमा संगठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा र रुपन्देहीका प्रतिनिधिहरूले सुझाव दिएका थिए। पाँचवटै प्रतिवेदनमा सात समूहका सदस्यहरूले टिप्पणी र सुझाव पेस गरेका थिए।







