विराटनगर ।कोशी प्रदेशको राजधानी विराटनगरमा ‘क्यामेराको लेन्सबाट पर्यटनको कथा लेख्ने’ उद्देश्यले दुई दिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ। मंगलबारदेखि आरम्भ भएको उक्त तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजना (STP) ले राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ) सँगको सहकार्यमा आयोजना गरेको हो।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट दुई–दुई जना प्रतिनिधिको सहभागिता रहेको यस नि:शुल्क तालिममा पर्यटन र फोटो पत्रकारितामा संलग्न सहभागीहरूलाई फोटोमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मानवीय पक्ष अभिव्यक्त गर्न सिकाइँदैछ।

नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सुशिला बरालले तालिमको उद्घाटन गर्दै भनिन्,

“नेपालको पर्यटन विकासमा मिडियाको ठूलो योगदान छ। प्रविधिको तीव्र विकाससँगै विश्व पर्यटन प्रवृत्ति परिवर्तन भइरहेका छन्। यस्तो समयमा पत्रकारहरूलाई दृश्यात्मक कथा भन्न सक्ने सीप आवश्यक छ। यस तालिमले त्यसमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

उनका अनुसार बोर्डले यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सातै प्रदेशमा चरणबद्ध रूपमा सञ्चालन गर्दै आएको छ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशिला पाठकले अहिलेको समयमा पत्रकारिताको गुणस्तर खस्किँदो अवस्थामाथि चिन्ता व्यक्त गर्दै भनिन्,

“सामाजिक सञ्जालको प्रभावले परम्परागत पत्रकारितामा चुनौती आएको छ। यस्ता तालिमहरूले मिडियाको पेशागत गुणस्तर र स्थानीय पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउँछन्।”

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले भने,“अब नेपाललाई लेन्सबाट संसारलाई देखाउने समय आएको छ। एउटा उत्कृष्ट तस्बिरले हजार शब्दभन्दा बढी बोलेर देशको कथा विश्वमा सुनाउन सक्छ।”

तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्‍चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको स्थापना उद्देश्य, पर्यटन पत्रकारिताको प्रक्रिया र महत्त्वबारे जानकारी गराए।
त्यसपछि सुनिल चुडामणी बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सिना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको इतिहास, उपयोगिता र उत्कृष्ट तस्बिर खिच्ने सैद्धान्तिक तथा व्यावहारिक सीपबारे प्रशिक्षण प्रदान गरे।

कार्यक्रमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार समूहका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए।

दुई दिनसम्म चल्ने यो तालिमले सहभागी पत्रकारहरूलाई पर्यटनका कथाहरूलाई फोटोको शक्तिद्वारा प्रस्तुत गर्न प्रेरित गर्ने आयोजकहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार