झापा — काठे पुल विस्थापन अभियानअन्तर्गत झापाको हल्दीबारी गाउँपालिकाले थप एउटा पक्की पुल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको हल्दीबारी–३ स्थित रणकाली सामुदायिक वन जोड्ने भुसुडी खोलाको पक्की पुल बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा पुलको उद्घाटन गरेका छन् ।


गाउँपालिकाले तीनवटा काठे पुल विस्थापन गरी तीनवटा पक्की पुल निर्माणका लागि एउटै ठेक्का आव्हान गरेको थियो । संघीय र प्रदेश सरकारको बजेटबिनै गाउँपालिकाले वित्तीय समानीकरणमार्फत भुसुडी खोलामा दुईवटा र भुतेनी खोलामा एउटा गरी तीनवटा पुल निर्माणका लागि कुल ४ करोड ६७ लाख ५४ हजार ८८७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०७९ मंसिर ७ गते सारा सृष्टि निर्माण सेवा प्रालिसँग सम्झौता गरिएको थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तमानबहादुर वन (महेन्द्र)का अनुसार सो सम्झौताअन्तर्गत भुसुडी र भुतेनी खोलाका दुईवटा पुल सञ्चालनमा आइसकेका छन् ।
एक करोड ३० लाख रुपैयाँ लागतमा बनेको भुसुडी पुल २६.८ मिटर लम्बाइ र साढे पाँच मिटर चौडाइको छ । अर्को भुसुडी पुल पनि एक महिनाभित्र सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले फजुल खर्च कटौती गर्दै विकास निर्माणका काममा तीव्रता दिएको उल्लेख गर्दै अध्यक्ष लिङदेनले भने, ‘गाउँपालिकाभर ४४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । काठे पुल भएका ठाउँमा कतै पक्की पुल र कतै कल्भर्ट निर्माण गरेका छौँ ।’
जलथल–जंगल क्षेत्रको पर्यटकीय मार्गमा बनेको उक्त पुलले स्थानीय बासिन्दा लाभान्वित भएको अध्यक्ष लिङदेनको भनाइ छ । साबिक जलथल गाविस क्षेत्र विकट र पछि परेको भए पनि गाउँपालिकाले सीमित बजेट र स्रोतबाट आफ्नै आन्तरिक लगानीमा पुल निर्माण गर्न सफल भएको उनले बताए । उनका अनुसार अब सो क्षेत्रको सडक निर्माण पनि चाँडै सुरु गरिनेछ ।







