बाह्रदशी — रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको आयोजनामा र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा बाह्रदशी गाउँपालिका–३ स्थित सुन्दरपुर आधारभूत विद्यालयमा बालबालिकाहरूका लागि दृष्टि परीक्षण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका विद्यार्थीहरूमा दृष्टि समस्या पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १०० भन्दा बढी बालबालिकाको आँखाको परीक्षण गरिएको क्लबले जनाएको छ । साथै, अभिभावकहरूबीच बालबालिकाको हेरचाह, स्वास्थ्य, अनुशासन र शैक्षिक सुधारबारे खुला अन्तरक्रिया गरिएको थियो ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले समुदायस्तरमा शिक्षा, स्वास्थ्य र सरोकारका क्षेत्रहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सोही अभियानअन्तर्गत क्लबले सुन्दरपुर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको हो ।

क्लबकी अध्यक्ष पुष्पाञ्जलि ठकुरी सिन्हाका अनुसार विद्यालय सुधारका लागि वहुवर्षीय योजना तयार पारिएको र सो योजना चरणबद्ध रूपमा कार्यान्वयन हुँदै गएको छ । “पहिलो चरणमा शिक्षकलाई आधुनिक र व्यवहारिक शिक्षाका विषयमा तालिम प्रदान गरिएको थियो,” अध्यक्ष ठकुरीले बताइन्, “अब विद्यार्थीहरूको स्वास्थ्य, व्यक्तित्व विकास र शैक्षिक सुधारमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दैछौँ।”

विद्यालयका शिक्षकहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पारेका छन् । उनीहरूले अभिभावक र विद्यालयबीचको सहकार्य बढाउन यस्ता अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले विद्यालयमा आधुनिक शौचालय निर्माण, खानेपानी ट्यांकी स्थापना र विद्यालय परिसर सरसफाइका काम पनि अघि बढाएको जनाएको छ । क्लबले आगामी चरणमा विद्यालयको भौतिक पूर्वाधार र वातावरणीय सुधारका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार