✍️ इन्द्र प्रसाद ओली

चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड — यो उखान वेदको बखान गर्न सान्दर्भिक लाग्छ। अझ गहिरो अर्थमा भन्नुपर्दा, “कौडीमा पनि मिल्किन्छ भिल्लको देशमा मणि” भन्ने सूक्ति नै यहाँ उपयुक्त ठहरिन्छ।वेदभूमि नेपालमा जन्मेर यहीँ हुर्किएका हामीले वेदको वास्तविक महत्त्व बुझेनौँ, तर म्याक्समुलरजस्ता पाश्चात्य विद्वान् भने वेदको गुणगान गरेर कहिल्यै थाकेनन्।

जर्मनी, बेलायत, अमेरिका लगायत देशहरूले वैदिक र लौकिक संस्कृत भाषालाई उच्च सम्मान दिएका छन्।वेद साहित्य, संस्कृति, राजनीति, अर्थनीति, गणित, दर्शन तथा सम्पूर्ण भौतिक र अभौतिक विज्ञानको मूल स्रोत हो। वेदो नारायणः साक्षात् भनिएको छ — अर्थात् वेद नै प्रत्यक्ष भगवान् नारायणको स्वरूप हो। सृष्टिको मूल नै वेद भएकाले यो अपौरुषेय र दिव्य ग्रन्थ हो; वेदमा नपाइने कुरा केही पनि छैन।कतिपयले पूर्वीय दर्शन र वैदिक दर्शनलाई पर्यायवाची मानेका छन्।

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेद छन्। कर्मकाण्डका ८० हजार, ज्ञानकाण्डका १६ हजार र उपासना काण्डका ४ हजार जोड्दा वेदका मन्त्रहरू एक लाख हुन्छन्।वेदको ज्ञानकाण्ड उपनिषद् हो, जसका संख्या सयौँ छन्। ब्रह्मसूत्र बुझ्न सक्ने व्यक्ति थोरै मात्र छन्। ब्राह्मण र आरण्यक ग्रन्थहरूको संख्यात्मक लेखाजोखा नै सम्भव छैन।पूर्वमीमांसा, उत्तरमीमांसा, सांख्य, योग, वैशेषिक र न्याय यी षड्दर्शनहरू मुख्य हुन्। वेदमा आधारित दर्शनशास्त्रहरू सयौँ छन्।इतिहास र पुराणलाई पञ्चम वेद भनिन्छ ।

पुराण, उपपुराण र औपपुराण गरी ५४ वटा पुराण छन्। महाभारत र रामायण इतिहास हुन्, जसमा महाभारतलाई वेदको व्याख्या नै मानिन्छ। वाल्मीकि, तुलसीदास, भानुभक्त आदि कविहरूले रामायणको माध्यमबाट वेदको सन्देशलाई सरल बनाए।श्रीमद्भागवत ५४ पुराणभन्दा माथिको महापुराण हो, जसको गूढार्थ बुझ्न ब्रह्मा स्वयंलाई पनि कठिन परेको वर्णन पाइन्छ।शिक्षा, कल्प, व्याकरण, छन्द, निरुक्त र ज्योतिष , यी वेदका छ अङ्ग हुन्, र तिनसँग सम्बन्धित ग्रन्थहरू हजारौँ छन्।वेदशास्त्रकै आधारमा विमानको आविष्कार पनि पूर्वीय सभ्यतामा सृष्टिकालमै भइसकेको मानिन्छ। त्रेता युगमा रावणले सीताहरण गर्दा विमानमै आएका थिए भन्ने उल्लेख छ। जब कि पाश्चात्य संसारमा विमानको इतिहास दुई सय वर्षभन्दा पनि छोटो छ।पूर्वीय दर्शनको प्रभाव संसारभर फैलिँदै गएको छ। यूरोपदेखि पूर्वतर्फका दार्शनिक चिन्तनलाई नै पूर्वीय दर्शन भनिन्छ। बौद्ध, न्याय, वैशेषिक, योग, सांख्य, मीमांसा, वेदान्त, शैव, शाक्त, जैन, चार्वाक लगायत दर्शनहरू सबै वैदिक जगमा उभिएका छन्।पाणिनीय दर्शनको विशेष स्थान छ।

वैदिक दर्शनकै जगमा हजारौँ दर्शन रचिएका छन्। सन् २०८० मा प्रकाशित ‘भाषा भगवान् हुन्, भगवान् भाषा हुन्’ ग्रन्थले भाषा, सृष्टि, राजनीति र अध्यात्मको अद्भुत समन्वय प्रस्तुत गरेको छ।पूर्वीय ग्रन्थहरूले धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिरिवाज, कला, मानवता, अहिंसा र सह-अस्तित्वका आदर्शलाई शाश्वत रूपमा व्याख्या गरेका छन्।संसारका चार हजारभन्दा बढी भाषाहरूको मूल संस्कृत हो। वैदिक र लौकिक गरी संस्कृतका दुई रूप छन्। ॐकारलाई वेदको जनक र सबै भाषाको मूल स्रोत मानिएको छ — यो मतमा कतिपय पाश्चात्य विद्वान्हरू पनि सहमत छन्।संस्कृत र वैदिक ज्ञानले आस्तिकदेखि नास्तिकसम्म सबैलाई समेटेको छ। प्रत्यक्ष भौतिकवादमा विश्वास गर्ने अनीश्वरवादीदेखि परोक्ष अध्यात्ममा आस्था राख्ने ईश्वरवादीसम्मलाई समान रूपमा समेट्ने शक्ति वेदमा छ।

“वसुधैव कुटुम्बकम्” — यही एक वाक्यले विश्वशान्ति, भ्रातृत्व र मानवताको सार समेटेको छ।निष्काम प्रेम, आदर, श्रद्धा र सह-अस्तित्व नै हाम्रो वैदिक संस्कृतिको मूल मूल्य हो। सिर्जना र मानवता संस्कृतिका अभिन्न अङ्ग हुन्।सन् २०१४ मा अष्ट्रेलियामा सम्पन्न जी–२० सम्मेलनमा टर्कीका प्रधानमन्त्रीले नेपाललाई आध्यात्मिक शक्ति–राष्ट्रका रूपमा मान्यता दिनुपर्ने तर्क गरेका थिए। यही सोचका कारण अष्ट्रेलियाले पनि यस विषयमा विशेष चासो दिएको पाइन्छ।सन् २०२३ मा क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा विधिवत् दर्ता भएको “सनातन धर्म अष्ट्रेलिया इन्क.” संस्थाले २०२५ को सुरुवातमै आफ्नो कार्यक्षेत्र टुवुम्बासम्म विस्तार गर्‍यो।त्यो संस्थाले श्री धर्मेश्वर महादेवको नाममा नर्मदेश्वर शिवलिङ्ग प्रतिष्ठा गरी मन्दिर निर्माण सुरु गरेको छ, जसको नेतृत्व श्री राजन अधिकारी र उनको सात सदस्यीय टोलीले गरिरहेको छ।यही टोलीले “अष्ट्रेलियामा पहिलो वैदिक विश्वविद्यालय — वैदिक गुरुकुल विश्वविद्यालय अष्ट्रेलिया” स्थापना गर्ने अभियान सुरु गरेको छसंस्थाका

अध्यक्ष राजन अधिकारीका अनुसार विश्वविद्यालय स्थापनाका लागि प्रारम्भिक तयारी र सार्वजनिक कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। सनातन धर्मका श्रद्धालु र ॐकार परिवारले यस अभियानलाई हार्दिक स्वागत र समर्थन जनाएका छन्।उनका अनुसार “वैदिक गुरुकुल विश्वविद्यालय” गुरुकुल शैलीमा संचालन हुने, उदाहरणीय शैक्षिक केन्द्र बन्नेछ।हामी सबैले अधिकारी र उनका सहधर्मीहरूको यो आध्यात्मिक सपना छिट्टै सफल होस् भनेर भगवान् शिवसमक्ष प्रार्थना गर्दै, आफ्नो तर्फबाट सक्दो सहयोग र समर्थन प्रदान गर्ने प्रतिज्ञा गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार