हल्दीबारी (झापा) — भारतसँगको सीमाक्षेत्र मेचिबिट हुँदै हुने लागुऔषध तस्करी रोक्न प्रहरीले कडाइ बढाएपछि एकैदिन दुई छुट्टाछुट्टै घटनामा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिकाका दुई जना समेत छन्।सीमामा चहलपहल बढेसँगै पैदल यात्रुसमेतलाई कठोर रूपमा चेकजाँच गरिरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कार्तिक २८ गते साँझ करिब ४:४० बजे वप्रका भद्रपुरबाट खटिएको टोलीले मेचिबिट, भद्रपुर–५ मा नेपालतर्फ प्रवेश गर्दै गरेका हल्दीबारी–३ निवासी ३१ वर्षीय अनुप महतोलाई शंका लागि रोक जांच गरेको थियो।

जांचका क्रममा महतोले मलद्वारभित्र प्लास्टिकको पोका प्रयोग गरी ल्याएको ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकसहित उक्त पदार्थको तौल १० ग्राम १८० मिलिग्राम र शुद्ध तौल ९ ग्राम रहेको प्रहरीले बताएको छ। उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
त्यसैदिन साँझ करिब ७ बजे मेचिबिट नाकामै गरिएको नियमित चेकजाँचका क्रममा भारततर्फबाट नेपालतर्फ पैदल प्रवेश गर्दै गरेका तीन जनाको गोजीमा लुकाइ ल्याइएको ब्राउनसुगर फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेहरू—१) देबराज श्रेष्ठ (३०), बिर्तामोड–३ कंचनजङ्गा प्लास्टिकसहित तौल: २.४२० ग्रामशुद्ध: २.०६० ग्राम२) रामकुमार मौली (४०), बिर्तामोड–५ शान्तिटोल प्लास्टिकसहित तौल: ३.२५० ग्रामशुद्ध: ३.०२० ग्राम३) सुफर मडी (२०), हल्दीबारी–३, जलथल प्लास्टिकसहित तौल: ७७० मिलिग्रामशुद्ध: ५२० मिलिग्राम उनीहरू सबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार साना–साना मात्रामा ब्राउनसुगर पैदलमार्फत भित्र्याउने क्रम नघटेकै कारण मेचिबिट नाकामा निगरानी र चेकजाँच थप कडा पारिएको छ।
दुवै घटनामा पक्राउ परेका चारै जना र बरामद लागुऔषधको विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले जानकारी दिएका छन्।







