हल्दीबारी — हल्दीबारी–३ देउनिया आर्यघाट क्षेत्र शनिबार सामूहिक सरसफाइ अभियानले झन् व्यवस्थित र सुव्यवस्थित बनेको छ। स्थानीय स्तरमा सक्रिय विभिन्न संघ–संस्था र समुदायको सहभागितामा बृहत श्रमदान कार्यक्रम सम्पन्न भएको हो।
वडा अध्यक्ष बिष्णु प्रसाद ओलीको नेतृत्वमा भएको सरसफाइ अभियानमा वडा सदस्य अजित कुमार बिष्ट, कर्ण भण्डारी, ढडुवा युवा क्लब परिवारका अध्यक्ष गोपाल न्यौपाने, सचिव अभिषेक खतिवडा, रणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर सावा, सचिव अर्जुन गिरी, शुरेश्वर स्वर्गद्वारी शिवलय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोरा, जलथल प्रहरी चौकी प्रमुख सञ्जीव चौधरीलगायतको सक्रिय उपस्थिति थियो।

ढडुवा युवा क्लब, रणकाली सामुदायिक वन उपभोक्ता समूह र शुरेश्वर स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिको सहकार्यमा गरिएको अभियान अन्तर्गत देउनिया दाहसंस्कार आर्यघाटदेखि शुरेश्वर मन्दिर परिसरसम्म झाडी फडानी, सरसफाइ तथा वातावरणीय सुधारका गतिविधि सञ्चालन गरिएको अभियानकर्मी अभिषेक खतिवडाले जानकारी दिए।
यस क्रममा आर्यघाटस्थित स्नानगृहका बिग्रिएका धाराहरूसमेत मर्मत गरिएको छ। मर्मतका लागि ४ थान नयाँ धारा प्रदान गर्ने भद्रपुरका व्यवसायी तथा खरेल सप्लायर्सका सञ्चालक राजेन्द्र खरेलप्रति सहभागीहरूले धन्यवाद व्यक्त गरे।
सहभागी सरोकारवालाहरूले आर्यघाट क्षेत्रलाई व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्न नियमित सरसफाइ, सामुदायिक सहभागिता र निरन्तर सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।
अभियानकारीहरूका अनुसार — “यस्ता सामूहिक प्रयासले स्थानीय वातावरण संरक्षणदेखि सार्वजनिक स्थलको सौन्दर्यकरणसम्म महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।”







