काठमाडौँ — नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा कात्तिक २९ गते राजधानीका दुई स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिका–१६, बालाजु बाइपासमा विज्ञान पूर्व विद्यार्थी सामाजिक संस्था तथा तादी गाउँपालिका–५ नर्जामण्डप (नुवाकोट) ले संयुक्तरूपमा आयोजना गरेको रक्तदानमा उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । सोही दिन ललितपुरको लगनखेल बसपार्कछेउ यल नेवा: समाज र संस्था विकास समितिद्वारा आयोजित रक्तदान पनि सम्पन्न भयो ।



यल नेवा: समाजका उपाध्यक्ष न्हुक्ष नेम्कुलले अतिथिहरू लाई खादा अर्पण गरी स्वागत गरेका थिए । त्यस्तै, समाजका सल्लाहकार रत्नमान चित्रकारले सार्वजनिक रूपमा सम्मान–पत्र प्रदान गरेका थिए ।
दुवै स्थानमा गरी महिला ३२ र पुरुष ६५ जना गरी जम्मा ९७ जनाले रक्तदान गरेका हुन् ।
रक्तदानमा सहभागिता जनाउने स्वयंसेवीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले प्रमाणपत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए ।
आयोजकहरूका अनुसार निरन्तर रक्तदानमार्फत मानवसेवाको अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले दोस्रो चरणको कार्यक्रम आयोजना गरिएको हो ।







