काठमाडौं । नेकपा एमालेले पार्टीभित्र नीति तथा नेतृत्व सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’ गठन गर्ने भएको छ। आज बिहान माइतीघर मण्डलामा युवाहरू भेला भई बानेश्वरसम्म मार्चपासपछि विशेष कार्यक्रममार्फत फोर्सको औपचारिक घोषणा गरिने एमालेले जनाएको छ।
राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौड्यालका अनुसार, एनभिएफको घोषणा कार्यक्रम बिहान ११ बजे हुनेछ, जहाँ प्रमुख अतिथिको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोर्सको शुभारम्भ गर्नेछन्।
एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको पहलमा करिब १५ दिनअघि कार्यदल गठन गरिएको थियो। पोलिटब्यूरो सदस्य महेश बस्नेत संयोजक रहेको उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति संरचना, उद्देश्य तथा भावी योजनासहित फोर्सको प्रारूप तयार पारेको एमालेले जनाएको छ।
पार्टीका अनुसार, राज्यका संयन्त्रलाई सहयोग पुर्याउने, जनतालाई भय तथा असुरक्षाबाट मुक्त गराउने, सुरक्षा निकायलाई सहजीकरण गर्ने र प्राकृतिक प्रकोपको बेला राहत तथा उद्धारमा सक्रिय रहने उद्देश्यले यो फोर्स गठन गर्न लागिएको हो।
एमाले नेता महेश बस्नेतले एनभिएफको संरचना प्रदेश र जिल्लास्तरमै तत्काल विस्तार गरिने जानकारी दिए। फोर्समा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डरको व्यवस्था प्रारम्भिक रूपमा गरिएको छ।







