झापा, मंसीर ५ – बिर्तामोडस्थित कृषिथोक बजारमा व्यापारी विवादका कारण भारतबाट टमाटर लिएर आएका एक भारतीय ट्रक चालक आठ दिनदेखि बन्धक जस्तै बसेका छन्।
यूपी नम्बर ८७ ए ती ४४६५ को ट्रक चालक योगेन्द्र सिंहका अनुसार, अक्टोबर १४ मा बिर्तामोड पुगेको ट्रक तीन दिनको लागि आएको थियो। तर व्यापारीबीचको लेनदेन विवादपछि भन्सार पास खोसिएको र घर फर्किन वातावरण नभएको उनले बताए।

“हामी भाडामा ट्रक लिएर आएका थियौँ, तर व्यापारीबीचको विवादमा हामी बन्धक जस्तै बनेका छौँ। कागजपत्र नदिँदा न नेपाल जान सक्छौं, न भारत फर्किन,” सिंहले दुखेसो पोखे।
सिंहका अनुसार दैनिक खर्च धान्न समस्या भइरहेको छ र आर्थिक–कानुनी जोखिम पनि बढेको छ। बिर्तामोडका व्यापारी खगेन्द्र महतोले भने, “ट्रक रोक्नुको कारण भारतीय व्यापारीसँगको २ लाख २७ हजार ९५९ रुपैयाँ फिर्ता नआउने जोखिम हो।”
सिंहले प्रशासनलाई समेत जानकारी गराए पनि तत्काल सहयोग नभएको बताउँदै, आफ्नो कागज फिर्ता गरी घर फर्किन वातावरण बनाउन आग्रह गरेका छन्।







