— हल्दीबारी डटकम रिपोर्ट

झापा, कचनकावल — लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (16 Days of Activism) कचनकावल गाउँपालिकामा औपचारिक रूपमा सुरु गरिएको छ। “प्रविधिको सदुपयोग गरौं— लैंगिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासहित सञ्चालन हुने अभियानको उद्घाटन गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गर्नुभयो।

गाउँपालिकाको वडा नं. २ मा आयोजित विशेष कार्यक्रमबाट अभियान शुभारम्भ गरिएको हो। कार्यक्रम उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न भयो। उद्घाटन समारोहमा अध्यक्ष राजवंशी, उपाध्यक्ष भट्टराई, वडा अध्यक्ष मिया, महिला अभियन्ता भागिरथ प्याकुरेललगायत वक्ताहरूले लैंगिक हिंसा अन्त्यमा सामूहिक प्रतिवद्धता महत्वपूर्ण हुने बताउँदै प्रविधिको प्रभावकारी प्रयोगबारे जोड दिए।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा कचनकावल गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य दिलकुमार राजवंशीले राख्नुभयो भने शाखा प्रमुख मेनुका घिमिरेले सहजीकरण गर्नुभयो।

मंसिर ९ गतेदेखि २४ गतेसम्म चल्ने यो अभियानको पहिलो दिन वडा नं. १, २ र ३ का प्रतिनिधिहरूलाई समेटेर वडा नं. २ कार्यालयमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, महिला अधिकारकर्मी, राजनीतिकर्मी तथा पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई कानुनी परामर्श तथा लैंगिक हिंसा सम्बन्धी आवश्यक जानकारी अधिवक्ता कविता बास्तोलाले प्रदान गर्नुभयो। उनले लैंगिक हिंसा रोकथाममा कानुनी ज्ञान, सामाजिक सचेतना र प्रविधिको संयोजन अत्यावश्यक रहेको औंल्याइन्।

कचनकावल गाउँपालिकाले यस वर्षको १६ दिने अभियानलाई समुदायमै पुगेर जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न गतिविधिबाट अघि लैजाने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार