लेखक: इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक, चेतना नेपाल
मद्यपान स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ।
अन्न, फलफूल वा अन्य कुनै स्टार्चयुक्त पदार्थलाई जीव–रासायनिक प्रक्रियाद्वारा कुवाई वा अन्य तरिकाले पारेर प्राप्त हुने अल्कोहलयुक्त पदार्थलाई मदिराजन्य पदार्थ भनिन्छ। जस्तै—जाँड, छ्याङ, व्हिस्की, रम, जीन, ब्राण्डी, भोड्का, वाइन, बियर, तोङ्वा, सेम्पन, साइडर, पेरी, मिड आदि। यी पदार्थको सेवनलाई नै मद्यपान भनिन्छ।
मद्यपानले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा गहिरो नकारात्मक प्रभाव पार्छ। साथै यसले पारिवारिक, सामाजिक र व्यावसायिक जीवनसमेत अस्तव्यस्त बनाइदिन्छ। नेपालमा मद्यपान एक विकराल मनोसामाजिक समस्याका रूपमा फैलँदो छ। मनोचिकित्सा अस्पतालदेखि सामान्य अस्पताल तथा पुनर्स्थापना केन्द्रसम्म ३०–५० प्रतिशत बिरामी मद्यपानजन्य समस्याका कारण उपचारमा भेटिन्छन्। अत्यधिक मद्यपानले कलेजो, आन्द्रा, मस्तिष्क लगायत शरीरका संवेदनशील अंगमा गम्भीर क्षति पुर्याउँछ।
मद्यपान गरी सवारी चलाउँदा हुने दुर्घटना, रक्सीको नशामा लडेर चोटपटक लाग्ने घटना, विष सेवन गरी आत्महत्याको प्रयास, पुनर्स्थापना केन्द्रमा भर्ना हुनुपर्ने अवस्था—यी सबका मूल कारण अत्यधिक मद्यपान नै हो।
समाजमा मद्यपानजन्य समस्या भोगिरहेका व्यक्तिलाई ‘रक्स्याहा’, ‘जँड्याहा’ वा ‘खराब बानी लागेको व्यक्ति’ भनेर हेप्ने चलन छ। तर व्यक्ति खराब होइन—उसले सेवन गर्ने नसा नै हानिकारक हो, जसले उसका बानी–व्यवहार, आचरण, नैतिकता र दिनचर्या बिगारिदिन्छ। यस समस्यालाई कुलतको रूपमा मात्र होइन, रोगका रूपमा बुझ्नुपर्ने अत्यावश्यक छ। यसरी बुझिएपछि मात्र व्यक्ति, परिवार र समाज मिलेर समाधानतर्फ अघि बढ्न सक्छन्।
रक्सी नखाई नबस्न सक्ने, रोक्न नसक्ने, हानिबारे थाहा हुँदा पनि सेवन निरन्तर दोहोर्याइरहने, मात्रा बढाउँदै लैजाने, सामाजिक गतिविधिभन्दा मद्यपानमै आनन्द खोज्ने, पारिवारिक तथा सामाजिक सम्बन्ध कमजोर हुँदै जाने—यी सबै ‘अल्कोहल डिपेन्डेन्स सिन्ड्रोम’ का लक्षण हुन्। त्यसैले यो रोग हो।
दीर्घकालीन मद्यपानका कारण विभिन्न शारीरिक तथा मानसिक दुष्परिणाम देखा पर्छन्—जस्तै अत्यधिक रिस, झगडालुपन, निमोनिया, क्षयरोग, मस्तिष्कघात, उच्च रक्तचाप, हृदयघात, कमलपित्त, अल्सर आदि। रक्सी नपाउँदा हात–खुट्टा काम्नु, निद्रा नलाग्नु, बेचैनी हुने जस्ता ‘विथ्ड्रावल’ लक्षण पनि देखिन्छन्। गम्भीर अवस्थामा बेहोस हुने, बडबडाउने, आफैँ वा अरूलाई हानि पुर्याउने जोखिम पनि रहन्छ।
यसले केवल एक व्यक्तिलाई होइन, पूरै परिवार र समाजलाई चोट पुर्याउँछ।
यस समस्याको सबैभन्दा महत्वपूर्ण उपचार मद्यपानको पूर्ण परित्याग हो। धेरैले कडा रक्सी मात्र नसा हो भन्छन्, तर वाइन, बियर, जाँड, छ्याङ वा कुनै पनि अल्कोहलयुक्त पेय—सबै नै नसा हुन्, फरक केवल अल्कोहलको प्रतिशतमा हो। त्यसैले मद्यपान छोड्दा सबै प्रकारका मादक पदार्थबाट दूरी आवश्यक हुन्छ।
रक्सी छोडेको भोलिपल्टै देखिने लक्षणका कारण ‘अलिकति ख्वाइदिए ठिक हुन्छ’ भन्ने धारणा अत्यन्त गलत हो। यसले समस्या झन् जटिल बनाउँछ।
बिरामीलाई रोगको यथार्थबोध गराउनु र डिप्रेसन, एङ्जाइटी जस्ता सह–रोगको पहिचान गरी चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु आवश्यक छ।
मद्यपानजन्य समस्याबाट मुक्त हुन अस्पताल वा पुनर्स्थापना केन्द्र मात्र पर्याप्त हुँदैन;
निरन्तर मनोपरामर्श, मनोचिकित्सकको निगरानी, व्यवहार–सुधार कार्यक्रम तथा समूहगत उपचार (Alcoholics Anonymous) मार्गदर्शक हुन्छन्।
अन्ततः रोगीलाई माया र उपचार गरौँ, रोगलाई तिरस्कार गरौँ।








