हल्दीबारी, झापा – स्व. जगत बहादुर एंम नरमाया बन स्मृति प्रतिष्ठानको आयोजनामा मंसिर १७ देखि १९ गतेसम्म हल्दीबारीमा दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
हल्दीबारी माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा पालिकाभित्रका पाँच वडाका ६ टिम सहभागी हुनेछन्। हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले आफ्ना स्वर्गीय मातापिताको नाममा २०८१ सालदेखि नै फुटबल प्रतियोगिता आयोजना हुँदै आएको जानकारी दिनुभयो।
प्रतियोगिताको खेल तालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र, वडा नं. ४ का अध्यक्ष सन्त कुमार थापा, हल्दीबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर पाख्रिन, स्थानीय फुटबल रेफ्री राजन श्रेष्ठ र पाँचै वडाका प्रतिनिधि उपस्थितमा सार्वजनिक गरिएको छ।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः नगद २५,००० र १५,००० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै व्यक्तिगत विधामा समेत नगद पुरस्कार र ट्रफी वितरण गरिने आयोजकले जानकारी दिए।

फाइनल खेलअघि हल्दीबारी गाउँपालिका भित्रका कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने छ भने प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रदान गरी खेललाई अझ आकर्षक बनाउने कार्यक्रम रहेको छ।
आयोजकले प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मात्र नभई फुटबलप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्य राखेको बताए। प्रतियोगितामा करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।








