काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग विवेकशील साझा पार्टीले एकीकरण गर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’ सर्वसम्मत अनुमोदन गरेको हो।
परियारले भने, “वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यतालाई महसुस गर्दै, नवयुवाहरूको ‘जेनजी विद्रोह’ले दुवै दलबीचको एकीकरणलाई तिब्र बनायो। यसले निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, संवृद्धि र सुशासनको आकांक्षा पूरा गर्ने हाम्रो प्रतिबद्धता पुष्टि गर्दछ।”

एकीकरणसँग सम्बन्धित अन्य प्राविधिक विषयहरू दुवै दलका नेतृत्वबीच उच्च समझदारीको आधारमा चाँडै टुङ्ग्याइने र औपचारिक घोषणा कार्यक्रम आगामी आइतबार राष्ट्रिय सभागृहमा हुने बताइएको छ।
राजनीतिक विश्लेषकका अनुसार, साना दलबीचको यस्तो एकीकरणले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा बल पुर्याउने र युवा नेतृत्वको दबाबलाई प्रभावकारी बनाउने छ।







