हल्दीबारी, झापा। नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि हल्दीबारी गाउँपालिकाबाट ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। झापाको क्षेत्र नम्बर ३ बाट युवा, खुल्ला र महिला प्रतिनिधि गरी २५ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार युवा प्रतिनिधिमा एक जनाको स्थानमा ७ जनाले प्रतिस्पर्धा गरेका छन्। हल्दीबारीबाट यसतर्फ नरेश चुँडाल, हरिकृष्ण अधिकारी र सागर र्पोतेलले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला प्रतिनिधिमा तीन जनाको ठाउँमा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। हल्दीबारीबाट त्रिलोचन सापकोटा, छविलाल चुडाल, सन्तलाल मेचे र मोहन रेग्मीले उम्मेदवारी दिएका छन्।
महिला प्रतिनिधिमा दुई जनाको स्थानमा ५ जनाले उम्मेदवारी दिएका छन्। यसतर्फ हल्दीबारीबाट शान्त गौतम र कल्पना रेग्मीले उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन कार्यतालिकाअनुसार, भोलिसम्म सहमति नभएमा पर्सि निर्वाचन हुनेछ। क्षेत्र नम्बर ३ मा ओली समूह र पोखरेल समूहका उम्मेदवारहरू भने अहिलेसम्म सार्वजनिक रूपमा घोषणा नभए पनि अघोषित रूपमा देखिएका छन्।









