काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज औपचारिक रूपमा एकता घोषणा गरिएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ का मुद्दालाई केन्द्रमा राख्दै दुबै पार्टीका शीर्ष नेताहरूले पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरे।

सहमतिपत्रमा सबै नेपालीको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सु–शासन स्थापना एकताको मुख्य आधार रहेको उल्लेख छ। रवि लामिछाने नेतृत्वको रास्वपाले पछिल्लो समय निर्माण गरेको संसदीय उपस्थिति तथा स्व. उज्वल थापाद्वारा सुरु गरिएको “विवेकशील अभियान” को योगदानलाई पनि सहमतिपत्रले औपचारिक मान्यता दिएको छ।

नाम र चुनाव चिन्ह अपरिवर्तित

एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै निरन्तर रहनेछ। पार्टीको झण्डा समेत साविककै निलो पृष्ठभूमि, मध्यभागमा सेतो वृत्त र बीचमा निलो घण्टीको प्रतीकसहित यथावत राखिने निर्णय गरिएको छ।

विवेकशील साझा पार्टीले रास्वपाको राजनीतिक सिद्धान्त, मार्गदर्शन र नेतृत्वलाई निःशर्त स्वीकार गरेको सहमतिपत्रमा उल्लेख छ।

संघीय नेतृत्व मञ्च गठन

सांगठनिक संरचना मिलानका लागि आगामी राष्ट्रिय महाधिवेशनसम्म ‘संघीय नेतृत्व मञ्च’ नामक विशेष संयन्त्र बनाइने निर्णय गरिएको छ। प्रदेश र स्थानीय तहमा पनि योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा समायोजन गरिने सहमति भएको छ।

दुवै दलले एकीकरण प्रक्रियालाई कानुनी रूप दिन निर्वाचन आयोगका आवश्यक प्रक्रिया तुरुन्त पूरा गर्ने, तथा दुवै पार्टीमा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी सहमतिमा सम्पन्न गर्ने बताएका छन्।

अन्य शक्ति र व्यक्तित्वलाई पनि आह्वान

सहमतिपत्रमार्फत रास्वपा–विवेकशील साझा एकीकृत दलले लोकतान्त्रिक सुशासन र समृद्धिका साझा लक्ष्यमा गोलबद्ध हुन अन्य वैकल्पिक, परिवर्तनकामी शक्ति तथा व्यक्तिहरूलाई पनि ‘घण्टी’ चिन्हमा संगठित हुन आह्वान गरेको छ।

सहमति पत्रमा रास्वपातर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन्। विवेकशील साझातर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा तथा उपाध्यक्ष प्रकाशचन्द्र परियारले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार