धनकुटा । नेपाल पर्यटन बोर्डले समुदायमा आधारित पर्यटन सेवाको गुणस्तर सुधार गर्न कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र अमाहा सिमसार क्षेत्रमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा संचालित दिगो पर्यटन परियोजना (एसटीपी) र श्वाती संस्थाको सहकार्यमा आयोजित तालिमले स्थानीय व्यवसायीलाई होमस्टे व्यवस्थापन, सेवा संस्कार, आतिथ्य सत्कार, स्थानीय संस्कृति प्रस्तुत गर्ने तरिका, विदेशी पर्यटकसँग व्यवहार, अंग्रेजी–हिन्दी संवाद अभ्यास र डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्ने व्यावहारिक प्रशिक्षण प्रदान गरेको छ।
अमाहा सिमसार, बराहक्षेत्र–५, सुनसरीमा भएको तालिमको उद्घाटनमा श्वाती संस्थाका अध्यक्ष सङ्गीता निरौलाले स्थानीय पर्यटन प्रवर्द्धनमा गुणस्तरमा ध्यान दिनुपर्ने बताए। सामुदायिक वन समिति र वडा कार्यालयले कम्युनिटी होमस्टे दर्ता प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, धनकुटाको भेडेटार, सांगुरीगढी–६ मा पाँच दिन चलेको “ग्राहक सेवा, हाइजिन र पर्यटन–मैत्री व्यवहार” तालिमले स्थानीय होटल तथा होमस्टे व्यवसायीलाई पेशागत सुधारका लागि उत्प्रेरित गरेको छ। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भारतबाट आउने पर्यटकलाई फेरि फर्कने वातावरण तयार पार्न सेवा गुणस्तर अभिवृद्धि आवश्यक भएको बताए। होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुम्बा राज लिम्बूले तालिमले स्थानीय ज्ञान र सीपको खाडल भरेको प्रतिक्रिया दिए।

तालिमपछि सरसफाइ, विशेषगरी भान्सा र कर्मचारी हाइजिनलाई प्राथमिकता दिने, तथा गाउँपालिका र होटल एसोसिएसनले सिकाइको अनुगमन गर्ने औपचारिक संरचना बनाउने सहमति भएको छ।

एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले भने,
“अमाहा सिमसारमा कम्युनिटी होमस्टे तयारी र भेडेटारमा पेशागत सेवाको स्तर वृद्धि गर्ने स्थानीय प्रतिबद्धताले कोशी प्रदेशको पर्यटन विकासमा नयाँ ऊर्जा थपेको छ। स्थानीय समुदाय नै पर्यटन विकासको वास्तविक अग्रदूत बन्न थालेका छन्, जसले दीगो पर्यटनमा योगदान दिनेछ।”

दीगो पर्यटन परियोजनाले यस किसिमका तालिममार्फत नेपालभर २,५०० दिगो रोजगारी सिर्जना र ५,००० जनाको सीप अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। तालिमले महामारीपछिको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्दै नेपाललाई विश्वस्तरीय दिगो पर्यटन गन्तव्य बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।







