बिर्तामोड / झापा। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण तथा डिजिटल सुरक्षा विषयक कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ। कार्यशाला नेपाल पत्रकार महासंघ झापा (महिला विभाग) र नारी सञ्चार गृह झापाको संयुक्त आयोजनामा, SNJD तथा LWF को सहयोगमा भएको हो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी खतिवडाले लिंगका आधारमा हुने कुनै पनि प्रकारको हिंसा अस्वीकार्य भएको बताइन्। उनले समाजका विभिन्न तहका महिलामाथि अझै पनि हिंसा दोहोरिनु दुःखद रहेको उल्लेख गरिन्।

त्यस्तै, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, मानवअधिकारकर्मी डा. रुपक खनाल, महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत वक्ताहरुले लैङ्गिक हिंसा रोकथाममा जनचेतनाको भूमिका, डिजिटल सुरक्षाको आवश्यकता र संस्थागत जिम्मेवारीबारे धारणा राखेका थिए।

प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्का तथा अधिवक्ता कोपिला खड्काले लैङ्गिक हिंसाको वर्तमान अवस्था, कानुनी व्यवस्थाहरु र पीडितले पाउन सक्ने न्यायिक उपचारका विषयमा तथ्याङ्कसहित प्रस्तुति दिएका थिए।

सहभागीको तर्फबाट अधिवक्ता रञ्जीता कार्की, महिला उद्यमी पार्वता खरेल बिमली, पत्रकार प्रदिप परियार, उमाकान्त खनाल, सामाजिक कार्यकर्ता दिपक दासलगायतले आफ्ना जिज्ञासा तथा अनुभव शेयर गरेका थिए।

कार्यक्रमको सहअध्यक्षता पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष विनिशा शर्मा गौतम र नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यले गरेका थिए। संचालन गृहकी सचिव दिपा सापकोटाले गरेकी थिइन्।











