बिर्तामोड । बिर्तामोड नगरपालिकाको बुट्टाबारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नति कार्य ८३ प्रतिशत सम्पन्न भएको छ। वडा नम्बर ६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण आधारभूत संरचनाका रूपमा रहेको यो सडकमा अहिले तीव्रगतिमा काम भइरहेको छ।

आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वरिष्ठ योजना अधिकृत जय तिम्सिना तथा इन्जिनियरहरूको टोलीले स्थलअनुगमन गरेको थियो।

अनुगमनका क्रममा नगर प्रमुख महतारा प्रसाईले ठेकेदारलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरी निर्माणमा विशेष ध्यान दिन आग्रह गरिन्।

उपप्रमुख संग्रौलाले तीन वर्षदेखि सुरु भएको यो स्तरोन्नति योजना अहिले अन्तिम चरणमा पुगेको बताउँदै अस्फाल्ट प्रविधिबाट भइरहेको निर्माणसँगै फुटपाथ, पेभर, विद्युत् पोल सार्ने, सडकबत्ती जडान तथा स्थानीयको मागअनुसार ट्रान्सफर्मर सार्ने काम पनि एकसाथ अगाडि बढिरहेको जानकारी दिए।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सडक निर्माण द्रुतगतिमा अघि बढिरहेको र दुई महिनाभित्र पूर्णरुपमा समाप्त हुने विश्वास व्यक्त गरे। उहाँका अनुसार हालसम्म ३ किलोमिटर कालोपत्रे भइसकेको छ भने बाँकी १ हजार २ सय मिटर एक हप्ताभित्र तथा बाँकी खण्ड दुई हप्ताभित्र कालोपत्रे हुनेछ।

विश्व बैंकको करिब ६४ करोड रुपैयाँको लगानीमा १२.५ मिटर चौडाइ र २.२ मिटर फुटपाथसहित ६.२ किलोमिटर लम्बाइको यो सडक आरपी साप समता जेभीले निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार