काठमाडौँ ।नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशको राजनीतिक दिशाबारे व्यापक जननिर्णय लिनुपर्ने आवश्यकता दोहो¥याउँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश संरचना खारेजी र प्रत्यक्ष कार्यकारी शासन प्रणालीका विषयमा जनमत सङ्ग्रह गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।
प्रसाईंका अनुसार जनमत सङ्ग्रह नै ‘लडाइँ टार्ने अन्तिम विकल्प’ हो। उनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग यस विषयमा छलफल भएको उल्लेख गर्दै गृहमन्त्री मागप्रति सकारात्मक रहेको दाबी पनि गरे। “देशलाई जोगाउने बाटो सबै मिलेर खोज्नु पर्नेछ,” प्रसाईंले भने।
‘माग टुक्रावाद होइन, ६० प्रतिशत विश्वस्त छु’
प्रसाईंले आफ्ना मागहरू नेपाललाई टुक्राउने उद्देश्यका नभएको प्रष्ट पार्दै माग पूरा हुनेमा आफू “६० प्रतिशत विश्वस्त” रहेको बताए। तर उनले सरकार माग सम्बोधन गर्न असफल भए आन्दोलन अन्तिम विकल्प हुने चेतावनी पनि दिए।
‘जेनजीलाई टेकेर सरकारमा आए, अब तिनैलाई थुने’
सरकारप्रति आक्रामक टिप्पणी गर्दै उनले अन्तरिम सरकारले न भ्रष्टाचार नियन्त्रण गर्न सकेको न जनआन्दोलनको भावनालाई बुझ्न सकेको आरोप लगाए। जेनजी आन्दोलनका विषयमा बोल्दै प्रसाईंले भने,
“जस जेनजीलाई टेकेर सरकारमा जानुभयो, आखिर त्यही जेनजीलाई थुनिएको छ। भ्रष्टाचारीलाई कारबाही गर्न सक्नुभएन। सरकार उल्टो बाटोमा छ।”
उनका अनुसार देश संकटतर्फ धकेलिन नदिन राज्यको नेतृत्वले सही निर्णय लिनुपर्छ।
सहयोगको आह्वान
देश “जोगाउने काम” सबैको सामूहिक जिम्मेवारी रहेको भन्दै प्रसाईंले नागरिक, समर्थक र राजनीतिक शक्तिहरूलाई आफूलाई साथ दिन आग्रह समेत गरेका छन्।








