पुष्कर निरौला –
अहिलेको समुदायमा देखिएको वास्तविक अवस्था: कसैलाई बाध्यता छ, कसैलाई हेल्चेकराई छ, कसैलाई केही होईन भन्ने छ, कसैलाई पीडा छ।
सबै कोरोना संग मिल्ने लक्षण छ भने नजिकको क्लिनिक गयो टाइफाइड तथा निमोनियाको औषधि मागेर खायो, चोक तिर गयो गफ गर्दै नियमित काम गर्यो वा २-४ दिन सुत्यो, बेसारपानी खायो, कोही पिसिआर जाँच गर्न नमान्ने डराउने, कोही कसैको पहुँचमा नहुने, पहुचमा हुने पनि चेक नगर्ने यस्तै उस्तै गर्दा उ निको हुन्छ।
केही दिन पछि घरका बाआमालाई वा अन्य सदस्यालाई स्वास फेर्न गाह्रो हुन्छ तुरुन्त अस्पताल लग्यो चिकित्सकले XRay, CT Scan गराउनु हुन्छ फोक्सो सकिएको हुन्छ Suspect COVID Case हुन्छ अनि अस्पताल आईसोलेसन, आईसियु, भ्यान्टिलेटर चाहिन्छ अनि तनाब हुन्छ। खोज्दा खोज्दै जीवन सकिन्छ।
अन्तमा COVID Diagnosis हुन्छ र मृत्यु हुन्छ वा कोही दिर्घरोगी हुन्छ। त्यसपछि डर लाग्छ Contact Tracing गर्यो PCR जाँच्यो कोही पोजिटिभ आउँछन् कोही नेगेटिभ। पोजिटिभ आउनेलाई Corona Tag लाग्यो अब उसलाई उस्कै साथीले फोन पनि गर्न छोडछ। उस्को घरको बाटो पनि हिँड्न छाड्छ।
उस्ले कसरी खाँदै छ परिवार के गर्दैछ, घरका बालबालिका, जेष्ठ नागरिक, गाईबस्तु सबैको बिजोग हुन्छ उसलाई त्यो आईसोलेसन सजाय हुन्छ।
कोही आएर के समस्या छ, के सहयोग गरम भन्नेवाला छैन। बजार चोकमा नलगाएको मास्क होम आईसोलेसनमा बसेको घर छेउको बाटोमा आउँदा मास्क लगाउँछन छिमेकीले।
पानी बाराबार नै हुन्छ। न आफन्त न जनप्रतिनिधि कोही आउनेवाला छैन। स्वास्थ्यकर्मीको त कुरै नगरम भ्याउने अवस्थानै छैन मान्छे गन्दै ठिक्क छ।
भ्याउने मानिसहरु पनि उल्टो चोकमा बस्यो फलनालाई कोरोना भयो भनेर गफ लगायो। उनीहरुलाई के थाहा उ आइसोलेसनमा बसेको कारण उस्ले कति जनालाई सार्नबाट जोगायो भनेर।
अनि नेगेटिभ आउने मान्छे वा कहिले जाँचै नगर्ने मान्छे मास्क पनि नलगाई हिँड्न थाल्यो। केही समयपछि Viral Load बढ्यो अरुलाई सार्न थाल्यो लक्षण केही देखिएन पछि CT Scan गर्यो फोक्सो खराब भयो अनि पश्चताप गर्यो बस्यो। त्यसो गर्दा गर्दै समुदायमा फैलिन थाल्यो।
सबैमा अनुरोध
१. कसैलाई संभावित लक्षण छ भने समयमानै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। PCR जाँचौ, घरमा छुट्टै बसौं, समयमानै परीक्षण गरिएन भने अरुलाई पनि सर्छ र पछि जटिलता हुनसक्छ घरका परिवारहरु गुमाउनु पर्ने हुन्छ।
२. हाम्रो समुदायमा रहनुभएका जो कोही पनि संक्रमणको श्रोत हुनसक्छ त्यही सोचेर सुरक्षाका नियमहरु अपनाउनु पर्छ।
३. कोही संक्रमण भइहालेमा उच्च मनोबलका साथ उपचार गर्न सहयोग गरौं। संक्रमित व्यक्ति, परिवारलाई माया सद्भाव गरि आधारभूत आवश्यकताका बस्तुहरु पुर्याएर सहयोग गरौं। मरेपछि लगेको सिदा, सहयोग र श्रद्धाञ्जली भन्दा आइसोलेसनमा बसेको समयमा गरेको सहयोग ठूलो हो। त्यसकारण सहयोग गर्ने भावनाको बिकास गरौं।
आफन्तजन, छिमेकी, साथीभाइ, आफ्ना सहकारीका सदस्य, स्थानिय सरकार, जनप्रतिनिधि, आम नागरिक समुदायलाई अनुरोध छः उनीहरुको घरमा जाँदैमा रोग सर्ने होइन बरु चोकमा बसेर अनावश्यक गफ नगरम। यो महामारी हो कतै आगो लागेको घरमा आगो निभाउँदा कोही न कोहीलाई चोट पटक त पक्कै लाग्छ नै त्यस्तै हामीहरु पनि यो महामारीबाट संक्रमित हुन सक्छौ। अभाब हुन्छ त्यसकारण सबैले सबैलाई सकारात्मक रुपमा सहयोग गर्नु जरुरी छ।
४. होम आइसोलेसनमा बस्नु भएका व्यक्ति तथा परिवारलाई भावनात्मक लगायत सकेको सहयोग गरौं। निको भइसकेको व्यक्तिहरुबाट निश्चित समयपछि संक्रमण सर्दैन। उहाँहरु नयाँरोगीको उपचारको लागि आवश्यक पर्दा प्लाज्मा दानगर्न सक्ने व्यक्ति हुन सक्नुहुन्छ। घरमानै निको हुनु भयो भने अर्को मानिसलाई अस्पतालको बेड खाली हुन सक्छ। के थाहा तपाईकै जीवन बचाउन सहयोगी हुन सक्नुहुन्छ कि।
त्यस्कारण उहाँहरु आउदा हतपत मास्क तान्नु भन्दा गलत व्यबहार गर्नु भन्दा अवस्था थाहा नभएको मानिसहरु सबैसंग दुरी कायम गरौं। मास्क सदैब लगाउँ।
५ . अहिलेको अवस्था भनेको समयमानै संक्रमणको अवस्था पत्ता लगाइ आफूलाई आइसोलेट गरि सर्न सक्ने दरलाई कम गर्दै निको पार्ने दरलाई बढाउनु पर्नेछ। एकले अर्कोलाई सकेको सहयोग गर्ने अवस्था भएको हुँदा आफू, परिवार र समुदायलाई सुरक्षित राख्न सक्ने सोच, भावना, व्यबहार र क्षमता हामी सबैमा बिकास होस भन्ने कामना गर्दछु।
लेखक पुष्कर निरौला हल्दीबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख हुन्। उनी आफैं कोरोना संक्रमित भएर निको भएका व्यक्ति हुन्।