रमेशकुमार सुवेदी
निन्दा धेरै मान्छेको प्रिय खेल भएको छ।मेरो बस चल्ने हो भने यसलाइ राष्ट्रिय खेल घोषणा गरीदिन्थे र भन्थे,आउ निन्दा-निन्दा राष्ट्रिय स्तरमै खेल। यसो गरेमा खेलाडीको मान पनि पुग्ने,सबैले खेल्ने मौका पनि पाउने,गजब हुन्थियो।यो खेल्न न खेल मैदान चाहिने,न कुनै ठाउँ तोकिएको हुनुपर्ने,यो त कुर्सीमा,मुडामा,खाटमा,भुइँमा जहा पनि खेल्न सकिन्छ। सुतेर,उठेर,उत्तानोपरेर, धोप्टेर,कोल्टेपरेर,बसेर,हिडेर,दौडेर,जस जसलाइ जे जसरी खेल्न मनलाग्छ,खेल्दा हुन्छ,यसको कुनै नियम छैन। आफुलाइ कसरी सजिलो हुन्छ,त्यसरी नै खेल्दा हुन्छ। अरुले के कसरी,कुन अर्थमा मन पराइ दिन्छन,त्यसको ख्यालमात्र राखे पुग्छ। अरुको निन्दा गरे पुग्ने यो खेल कहिले देखि को, कसले सुरु गरेको हो,थाहा पाउन सकिएको छैन।
भात खादा,चिया पिउदा,बाटोमा हिड्दा, पार्टीमा,पिक्निकमा,अफिसमा, जुनसुकै ठाउँमा यो निक्कै लोकप्रिय हुदै गएकोछ।म त खेल्दैखेल्दिन भन्दा पनि धर नपाउने यो खेलले सबै क्षेत्रमा स्थान पाउदै गएको पाइन्छ।
मौका पाउनासाथ खेल्न पाइने यो खेलको,कुनै निर्धारित समय छुट्टियाएको हुदैन। जसलाइ जतिसमय खेल्न मन लागो खेल्दा हुन्छ।
दुइजना जम्मा भयो, सुरु तेस्रो बाट गरो, तेसपछि अरुको(निन्दा) थप्दैलैजान सकेमा अनुभबि खेलाडीको पगरी पाइन्छ। एउटाले सुरु गर्छ,अर्कोले अ..अ…भन्दै गर्ने र बिच्च-बिच्चमा कां…तेति मात्र हो र!तंलाइ थाहै रहेनछ,त्यो-त्यो..कम्तिको छ भनि अरु थपगर्दै जादा यो खेलमा अझ रोमान्चक प्रतिस्पर्धा हुन्छ।कसले जित्नेहो, रेफ्री न भएकोले छुट्टाउन ति दुइले समेत सक्दैनन्।बिचरा खेलाडी कस्को हार भो,कस्को जीत थाहा पाउन नसकेको कारण अन्यायमा परीरहन्छ्न्। तसर्थ,यसलाइ पुरस्कार सहित राष्ट्रियस्तरको खेल घोषण गरेमा खेलाडीले पनि न्याय पाउथे कि!भन्ने मेरो सुझाव हो।
यो कुन स्थानमा खेलियेको छैन र! यसको लोकप्रियता तेसै भएको होइन। यसलाइ न साधन न कुनै ठाउँ,न त रेफ्री नै चाहिन्छ।
रमाइलो त के छ भने यो खेललाइ आजसम्म संबिधान, ऐन-नियम वा अन्य कुनै कानुनले समेत छुन सकेको छैन। यो नियम-कानुन भन्दा माथि छ,भन्दा हुन्छ।कानुनले समेत छुन नसकेकोले पनि होला यो खेल धेरैका लागी लोकप्रिय हुदै गएको पाइन्छ।
“निन्दा-निन्दा” खेलको सबै भन्दा अफ्टेरो र हार हुने एउटा मात्र कारण हो,जसको निन्दा गरिएको हुन्छ,उसले थाहा पाउनु हो।उसले थाहा पायो भने यो खेलको मज्जा नै किरकिरा हुन्छ।अझ उ(प्रतिद्वन्द्वी)बलियो र झ्वाकि परो भने,करङ्ग मात्र हैन कि बङ्गरा नै फुकाल्ने सम्भावना रहन्छ। कारण एउटै छ,यो प्रमाण बेगर नै “दनक” दिन मज्जा आउने खेल भएकोले था पाउनेले, के भनिस अरे?मेरो निन्दा किन गरीस?भन्दै खोजी गरेमा आपत पार्छ। के भन्ने,भन्ने बनाउछ। अनि करङ्ग र बङ्गरा खुस्किने चान्स दुइतिहाइ बुहुमत जस्तै बलियो भएर जान्छ।जब करङ्ग,बङ्गरा,अनुहार सबै कच्याक-कुचुक बनाउने पुरस्कार पाउछ,अनिमात्र उसले यो खेलबाट सन्यास लिन्छ। नत्र त पुनः खेलिरहन्छ।
अब यस्तालाइ तपाइ भए के उपहार दिन मन पराउनु हुन्छ?प्रतिक्रिया पक्कै आउछ होला!
इतिहास हेर्ने हो भने निन्दा गर्नेको न सालिक बनेकोछ,न त नाम नै अमर रहेकोछ।बरु कुनाम(बद्नाम) बाहेक अरु उपलब्धि केहि पाएको हुदैन। जानि नजानि अरुको निन्दा गरेर जतिनै निकोपार्छु भन्दै मल्हम लगाएपनि त्यसले काम गर्दैन।बाहिरी घाउ र भित्री घाउमा निक्कै अन्तर हुन्छ।तसर्थ, निन्दाका खेलाडीले पहिले प्रत्येक शब्द-शब्दलाई मज्जाले स्वादलिने(चाख्ने)नमिठो वा दुर्गन्ध आयो,भने कसैलाइ नदिनु होला नत्र त्यसले तपाइ(खेलाडी)लाइ नै दुर्गन्धित बनाउने पक्का छ,भन्ने सुझाव दिनु सिवाय अरु के नै पो गर्न सक्छौं र!
आगे खेलाडी कै मर्जि।
“अस्तु”
भद्रपुर-७ झापा।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार