राजु श्रेष्ठ- पाथीभरा, अर्थात् धार्मिक आस्थाको धरोहर । यद्यपि त्यहाँ धार्मिक पर्यटकहरुको मात्र घुइँचो लाग्दैन, मनोरम प्रकृतिमा मग्न हुने अभिलाषा बोकेर पनि अनगिन्ती पाहुना त्यहाँ पुग्छन् । पाथिभराले केवल धार्मिक आस्था र विश्वासलाई मात्र समेटेर उभिएको छैन, पूर्वको पर्यटनलाई पनि टेवा पुर्याइरहेको छ ।
म पनि पटक–पटक यसरी नै पाथिभराको चुचुरो उक्लिएको छु । यसपालि चौथो पटक त्यहाँको यात्रा तय गरियो, मंसिरको दोस्रो साता । वितेको ६ वर्षपछि म त्यहाँ पुगेको थिएँ । त्यसबेला र यसबेलाको पाथीभरा अनुभव केही फरक रह्यो । अहिले त्यहाँ केही सेवा सुविधा थपिएको रहेछ । ६ वर्षअघि अहिले जस्तो बाटो व्यवस्थित थिएन । ठाउँ–ठाउँमा थकाइ मार्ने चौतारी थिएनन् । हिउँ परेको बखत ओत लाग्ने स्थान थिएन । अहिले यी सम्पूर्ण सुविधा थपिएछ । त्यसैले यात्रा अरु सुविधाजनक भयो ।
चुनौतीले भरिएको यात्रा हिन्दु धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण मनोकांक्षा हो, पाथीभरा मन्दिरको दर्शन । आसपासमा हिमाल, बीचमा थुम्को । चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ । पाथी जस्तै थुम्कोमा रहेको पाथीभरा मन्दिर पुग्न सजिलोचाहिँ छैन । जो पाँच घण्टा उकालो हिँडेर मन्दिरमा पुग्छ, उसले बास बस्न पुनः फेदीमै ओर्लिनुपर्छ । त्यही भएर पनि पाथीभरा मन्दिर पुग्न सोचे जस्तो सजिलो छैन । समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा लेक लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पूर्वको ताप्लेजुङ्गमा रहेको पाथीभरा मन्दिर नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि चर्चित छ । यो मन्दिरमा बर्सेनि नेपाल तथा भारतबाट एक लाख बढी भक्तजनहरु दर्शन गर्न आउँछन् ।
पाथीभरा मन्दिर पुस माघमा हिउँले सेताम्य हुन्छ भने अन्य समयमा पनि मौसम चिसो नै हुने गर्दछ । हत्केलामा हिमाल तर पानीको समस्या पाथिभराको थुम्कोबाट हिम शृंखलाको दृश्य अत्यन्त मनमोहक देखिन्छ । यस्तो लग्छ, मानौं हातलै हिमाल छुन सकिन्छ । मन्दिर परिसरबाट विश्वको तेस्रो अग्लो हिमाल आँखै अगाडि देख्न पाइन्छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल आँखै अगाडि देख्न मात्र होइन, यहाँबाट कुम्भकर्ण हिमाल पनि देख्न सकिन्छ । यसका साथै मन्दिर परिसरबाट ८ हजार मिटरभन्दा अग्लो अर्को हिमाल पनि देख्न सकिन्छ । यो समय मौसम सफा हुने भएकाले पनि हिमाल हेर्नलाई उपयुक्त मौसम मानिन्छ ।
पाथीभरा मन्दिर परिसरबाट एक सय ८० डिग्रीमा हिमाल हेर्न सकिन्छ । पाथीभरा मन्दिरमा सबैभन्दा ठूलो समस्या भनेको पानी हो । मन्दिर परिसरमा पानीको स्रोत नहुँदा भक्तजन तथा मन्दिरका पूजारी लगायत सुरक्षाकर्मीलाई समस्या छ । मन्दिर परिसरबाट तीन किलोमिटर तल रहेको काफ्लेपाटीबाट पानी ल्याउनुपर्ने बाध्यता छ । यस्तो छ धार्मिक कथन पाथीभरा देवीको उत्पतिसम्बन्धी थुप्रै किम्बदन्ती तथा जनश्रुति छन् । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेँडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दादेख्दै ती गोठका बथानका बथान भेँडाहरू अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिइन् । आफ्नो उत्पत्तिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिइन् । आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेँडाको थुम्बा बलि दिए । बलि के दिएका थिए ती हराएका सयकडौं भेँडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे ।
त्योभन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन् । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो आदि पनि अनिवार्य रूपमा चढाउने गर्दछन् ।
कसरी जाने ? काठमाडौंदेखि सुकेटारसम्म हवाईजहाज अथवा ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म बसमा जान सकिन्छ । ताप्लेजुङको फुङलिङ बजारबाट पाथीभरा मन्दिर १९ दशमलव ४ किलोमिटरको दुरीमा छ । तर, अहिले फेदीसम्म कच्ची बाटो भएका कारण सवारी ऋसाधन अर्थात जीप जाने गर्दछ । फेदीबाट ५ घण्टाको उकालो चढेर मन्दिरमा पुगिन्छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1