हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी l नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यातका लागि प्रसारणलाइन निर्माणको कार्य सुरु भएको छ। आयोजना निर्माण भइरहेको संखुवासभाको दिदिङदेखि भारतको सीतामणिसम्मको २ सय ३३ किलोमिटर डबल सर्किटको ४ सय केभीको प्रसारणलाइनको निर्माण कार्य सुरु भएको छ।
प्रसारणलाइनअन्तर्गत डिडिङदेखि नेपाल–भारतको सीमा बथनाहसम्मको २ सय १७ किलोमिटर र बथानाहदेखि सीतामणिसम्म १६ किलोमिटर पूर्वाधार निर्माण हुनेछ। ढल्केबर सबस्टेसनको निर्माण सुरु गरेसँगै प्रसारणलाइनको निर्माण कार्य सुरु भएको आयोजनाले जनाएको छ। दुई टावर, दुई कन्डक्टर र एक सबस्टेसन गरी पाँच प्याकेज बनाएर प्रसारणलाइन निर्माण अघि बढाइएको र यसका लागि निर्माण कम्पनी छनोट गरिसकेको आयोजनाको प्रवद्र्धक अरुण तेस्रो हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो।
“सन् २०२२ को जुलाईमा सम्पन्न गर्ने गरी आयोजनाको काम सुरु भएको छ, सवस्टेशनको जग्गा प्राप्ति भइसकेको छ भने प्रसारणलाइन निर्माण गर्ने क्षेत्रहरूको जग्गा प्राप्ति र प्रक्रिया अघि बढेको छ,” उहाँले भन्नुभयो। महोत्तरी, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, सिरहा र धनुषा जिल्लाका टावर जाने क्षेत्रहरूमा जग्गा प्राप्ति, मुआब्जा निर्धारणलगायत काम अघि बढेको आयोजनाले जनाएको छ। सन् २०११ मा गरिएको सर्भेअनुसार निर्माण गर्दा उदयपुरको कटारी क्षेत्रमा धेरै घर विस्थापित हुने भएपछि ४८ टावर सार्नुपर्ने देखिएको पनि आयोजनाले जनाएको छ।
प्रसारणलाइनका लागि अगष्ट २०१९ मा भारत सरकारले १९ अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबर अर्थात १२ अर्ब ३६ करोड १३ करोड भारु लगानीका लागि स्वीकृति दिइसकेको छ भने नेपाल सरकारले पनि डिसेम्बर २०१९ मा प्रसारणलाइनको अनुमतिपत्र समेत दिइसकेको छ। आयोजनाअन्तर्गत सात जिल्लामा ५०१ टावर बन्नेछन्। आयोजनाका अनुसार दिदिङदेखि उदयपुरसम्म ९३ किलोमिटर र उदयपुरदेखि सीमासम्म १ सय २३ किलोमिटर प्रसारणलाइन बन्नेछ। १० महिनाअघि प्रसारणलाइन निर्माणका लागि निर्माण व्यवसायी कम्पनी छनोट भएपनि कोभिडको कारणले ढिलाइ भएको आयोजनाले जनाएको छ। संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारणलाइन सीमा हुँदै ढल्केबरसम्म लैजाने योजना भए पनि आयोजनाले यसलाई संशोधन गरेर सीतामणि लैजाने योजना बनाएको छ।
पहिला मुज्जफ्फरपुर पु¥याउन एक सय किलोमिटर प्रसारणलाइन भए पनि अब सीतामणिसम्म पुफ्याउन १६ किलोमिटर प्रसारणलाइन भए पुग्छ। आयोजनाबाट उत्पादित विद्युत् ढल्केबरबाट मुज्जफ्फरपुर हुँदै भारत निर्यात गर्ने योजना छ। सन् २००८ मा खुला प्रतिस्पर्धामार्फत अनुमतिपत्र लिएको अरुण तेस्रोको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो।
सम्झौता अनुसार, नेपालले पाउने २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट विद्युत् ढल्केवरस्थित ४०० केभी प्रसारणलाइनमार्फत पाउनेछ। एक खर्ब २० अर्ब लागत अनुमान गरिएको आयोजना सन् २०२० भित्र सम्पन्न गर्ने लक्ष्य छ। प्रसारणलाइन निर्माण केही ढिलाइ भए पनि आयोजना सम्पन्न हुने मितिमै सम्पन्न गर्ने गरी आयोजनाको निर्माण कार्य दु्रतगतिमा अघि बढेको आयोजनाले जनाएको छ।