झापाको जलथल जंगलस्थित सामुदायिक वनका संरक्षण कार्यमा सहभागी हुन मित्र लिलानाथ शर्मा शुक्रबार बिहान त्यहाँ पुगेका रहेछन्। सोही बिहान सात बजे हल्दीबारीस्थित बडाबडी चोकको एक चिया पसलबाट उनले फोन गरे।

कमल मादेन 
तेह्रथुम र ताप्लेजुङका विशेषतः कुमाई बाह्मण तथा स्थानीय मेचे र राजवंशी समुदाय बाहुद बडाबडी चोकमा रहेको एक चिया पसलमा उनी चिया पिउने गर्छन्। म पनि झापा पुगेका बेला उनीसँगै स्थानीय राजवंशीले चलाउने सो चिया अड्डामा कयौं पटक चिया खान पुगेको छु। सानो गिलास, डडेको दूधको वासना, स्वादिलो चिया सो पसलको विषेशता हो।

बडाबडी चोकबाट चार–पाँच मिनटको पैदल दुरीमा जलथल जंगल छ। अधिकांशलाई थाहै होला, झापाका जंगल नेपालमा हालसम्म पहिचान भएका ३५ किसिमको जंगलमध्ये ३६ औं किसिमको जंगल हो। अर्थात ३५ प्रकारबाहेकको थप अर्कै किसिमको छुट्टै जंगल हो। यो जंगल जैविक विविधताका निम्ति महत्वपूर्ण छ। सोही जंगलमा लिलानाथ शर्माको जैविक विविधता अध्ययन टोलीले गत २ वर्षयता नेपालका लागि नयाँ वनस्पति प्रजाति फेला पारिसकेको छ।

सोसम्बन्धी जानकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका र केही हुने क्रममा छन्। सो जंगलमा वनस्पति मात्र होइन, नेपालका लागि नयाँ माछा र सर्पका प्रजाति पनि फेला परेको छ।

यति भनिसकेपछि अब लिलानाथ शर्माले एकाबिहानै फोन गर्नुको कारणतर्फ लागौं। शर्माजीले बिहानै फोन गर्नुको कारण पनि विशेष नै रहेछ। जलथल जंगलमा नेपालका लागि एउटा नयाँ प्रजातिको रुख फेला परेको जानकारी दिन उहाँ आतुर हुनुहुन्थ्यो। यसअघि पनि जलथल जंगलमा नेपालका लागि नयाँ ६ प्रजातिका रुख फेला परेका थिए।

  • जलथल जंगलमा विश्वमै क्रिटिकल्ली इन्डेजर्ड (Critically Endangered) अवस्थामा रहेको जमिनमा रहने एक कछुवा प्रजाति पनि फेला पारेको छ। यसका अतिरिक्त पूर्वी नेपालका लागि थप ३ नयाँ सरिसृप जलथलबाटै थपिएको छ।

अनुसन्धानकर्ताले कसैले फेलानपारेको वनस्पति वा जन्तु फेला पारेमा त्यसको मिहिन अध्ययन गर्दै तिनको वैज्ञानिक नाम पत्ता लगाउने प्रयास गर्छन्। यो निकै सकसपूर्ण काम हो। समय उस्तै लाग्छ, अनेकौं प्रकाशन पल्टाउनु पर्छ। प्रकाशन हेरेर मात्र पनि हुँदैन तिनलाई पर्घेल्नु पर्छ। विशेषतः वनस्पतिको परिवार पहिचान गरी त्यसका जाति अन्तर्गतका विभिन्न प्रजातिको संरचना अध्ययन गर्नु पर्छ। यसका निम्ति प्रजाति विशेषका पात, फूल, फल आदिका आकारसहित काण्डका बोक्रा आदिका फरक पत्ता लगाउनु पर्छ। फूल तथा फलको बाह्य संरचनाबाहेक आन्तरिक संरचनाको पनि अध्ययन गर्नुपर्छ। यति लामो र सकसपूर्ण काम शर्माजीले भाग्यवश एकै दिनमा फत्ते गर्नुभएको थाहा पाउँदा छक्कै परेँ।

अवस्थिति तथा विवरण

पंक्तिकार सुनसरी र मोरङस्थित चारकोसे जंगलका रुखका विविधतामा केही जानकार छ। झापा पनि नजिकैको जंगल हो। त्यो जंगल पनि घुमिएकै हो। तर, जलथल जंगलमा नेपालको निम्ति थप नयाँ प्रजातिको रुखको तस्विर देख्दा भने अचम्मै परियो। त्यस्तो रुख पहिले देखिएको थिएन। नदेखेको कुराको जानकारी हुने कुरा पनि भएन।

सो रुख कालिका सामुदायिक वनमा भेटिएको रहेछ। त्यो रुखबारे सामुदायिक वन उपभोक्ता समूहका सदस्य पनि बेखबर रहेछन्। जंगल पुगेका समुदायका अगुवाहरुलाई पनि रुखको स्थानीय नाम थाहा रहेनछ। यद्यपि, कसैले हाडे भन्ने नाउँ सुझाए। तर, हाडे रुख अर्कै हुन्छ। हाडेको रुख झण्डै बोड धमेरोको जस्तो हुन्छ र त्यसको काण्डभन्दा मोटो र अग्लो हुन्छ। यस रुखको उचाई भने झण्डै १२ मिटर रहेछ। रुख सानै हो। २ वटाको संख्यामा मात्र भेटिएको रहेछ। थप अरु पनि हुन सक्छ।

फल पाकेको अवस्थामा रहेछ। फल बाँदर, ढेँडु तथा पक्षीले खाँदा रहेछ। रुखको बोक्रा खैरो र काठ चाहीँ नौनी रंगको रहेछ। रुखको बोक्रा भने टुनी भनिने रुखको जस्तो देखिँदो रहेछ। पात १२–१८ सेन्टिमिटर लामो र ५–८ सेन्टिमिटर चौडा रहेछ। फलको व्यास साढे २ सेन्टिमिटर भएको उक्त वनस्पति चिसो तथा बालुवा भएको केही खाल्डोजस्तो जमिनमा भेटिएको थियो। उक्त वनस्पति अहिलेसम्म अन्यत्रको जंगलमा फेला परेको थिएन भने जलथल जंगलमा पनि दुर्लभ अवस्थामै रहेछ।

डिस्कोस्पर्मम् स्फाइरोकार्पम

त्यो रुख करम वा कर्मा भनिने ठूलो रुख सम्बद्ध वनस्पति परिवार रुबिएसी अन्तर्गतको डिस्कोस्पर्मम् स्फाइरोकार्पम (Discospermum sphaerocarpum) रहेछ। यो रुख प्रजाति यसअघिसम्म  भारत, बंगलादेश र श्रीलंकामा मात्र पाइएको अभिलेख थियो। यो रुख विश्वको निम्ति भारतमा पत्ता लागेको हो।

यसबारे जानकारी सन् १८५० मा सर विलियम ज्याक्सन हुकर सम्पादित ‘हुकर्स जर्नल अफ बोटानी एण्ड क्यु गार्डेन मिस्सेलनी’ शीर्षक पुस्तकको दोस्रो खण्डमा प्रकाशित छ।

एन. ए. डाल्जेल (N.A. Dalzell) ले माथि उल्लिखित पुस्तकमा ‘कन्ट्रिब्युसन टु द बोटानी अफ वेस्टर्न इन्डिया’ शीर्षक लेखमा ‘डिस्कोस्पर्मम् स्फाइरोकार्पम’का बारेमा लेखेका छन्। पुस्तकमा डाल्जेलले रुबिएसेसी वनस्पति परिवारअन्तर्गत डिस्कोस्पर्मम् जाति कसरी उनबाट स्थापना गरियो भन्ने रमाइलो विवरण प्रस्तुत गरेका छन्। त्यसअघिसम्म उक्त जाति पत्ता नै लागेको रहेनछ। उनले रुबिएसेसी परिवारअन्तर्गत एक अर्को प्रजाति पोचेटिया (Pouchetia) सँग मिल्दोजुल्दो तर भिन्न दुई प्रजाति फेला पारे।

ती दइर्ए भिन्न प्रजाति पोचेटिया जातिका वनस्पतिसँग केही मिल्दाजुल्दा थिए। तिनीहरु नजिकका नातेदारजस्ता देखिए। यसैले उनले ती दुईलाई छुट्टै जाति ‘डिस्कोस्पर्मम्’ खडागरी त्यसअन्तर्गत समावेस गरे। ती दुई प्रजाति ‘डिस्कोस्पर्मम् स्फाइरोकार्पम्’ र ‘डिस्कोस्पर्मम् एपिकार्पम्’ थिए। तीमध्ये पहिलो चाहीँ जलथलमा भेटिएको हो। अर्को प्रजाति अहिलेसम्म भारतको रैथाने वनस्पति प्रजातिको रुपमा रहेको छ।

यसरी, ‘डिस्कोस्पर्मम् स्फाइरोकार्पम्’ भारतबाट पत्तो लागेको १ सय ७७ वर्षपछि मात्र नेपालमा पनि पाइन्छ भन्ने पत्ता लाग्यो। यहाँ के उल्लेख गर्नुपर्छ भने डिस्कोस्पर्मम् नेपालको निम्ति नयाँ रुख जाति हो। डिस्कोस्पर्मम् जाति अन्तर्गतका करिब १ दर्जन प्रजाति दक्षिण तथा दक्षिणपूर्व एसियामा पाइएका छन्।

जलथल अभिलेखीकरण

लिलानाथ शर्मा र भाष्कर अधिकारी लिखित ‘जलथलः संरक्षण प्राथमिकतामा परेका वनस्पतिहरु’ शीर्षक पुस्तिका यही मंसिर महिनाको तेस्रो साता प्रकाशित भयो। फरेस्टएक्सनले प्रकाशन गरेको उक्त पुस्तिकामा जलथल क्षेत्रमा पाइएका ४ सय ५० प्रजाति वनस्पतिमध्ये दुर्लभ तथा उपयोगिताका आधारमा महत्वपूर्ण अवस्थामा रहेका २० प्रजाति वनस्पतिको रंगिन तस्विरसहितको विवरण समावेस छ।

उक्त पुस्तिकामा आइयुसिएनले विश्वमै इन्डेजर्ड (Endangered) सूचीकृत गरेको ‘साइफोनोडन सेलाष्ट्रिनियस’ (Siphonodon celastrineus) पनि समावेस छ। यो आरु परिवार रोजेसीअन्तर्गतको रुख प्रजाति हो। यो, नेपालको तराई क्षेत्रमा पाइने एउटै मात्र आइयुसिएनबाट विश्व स्तरमै इन्डेजर्डका रुपमा सूचीकृत रुख प्रजाति हो। अहिलेसम्म यो रुख प्रजाति नेपालको अन्य भूभागमा फेला परेको छैन। यसर्थ, यो पनि नेपालको निम्ति नयाँ रुख प्रजाति हो।

फरेस्टएक्सन नेपालले साँच्चै मिहिन ढंगबाट जलथल जंगलको वनस्पति अध्ययन अनुसन्धान तथा संरक्षणमा काम गरिरहेको पुनः पुष्टि भएको छ। अध्येयताहरु लिलानाथ शर्मा, योगेन्द्र विक्रम पौडेल, भाष्कर अधिकारी र अस्मित सुब्बा बधाईका पात्र हुन्। सुब्बाले नेपालको लागि जलथल जंगलमा माछा र सरिसृपका एक–एक नयाँ प्रजाति पनि फेला पारेका छन्।
यस्तै, ‘डिस्कोस्पर्मम् स्फाइरोकार्पम्’ पनि नेपालको निम्ति एक दुर्लभ रुख प्रजाति हो। जलथल जंगलका निम्ति पनि दुर्लभ नै रहेको बुझिन्छ। यस्तो दुर्लभ अवस्थामा रहेको रुख प्रजाति ‘जलथलः संरक्षण प्राथमिकतामा परेका वनस्पतिहरु’ समावेस हुन सकेन। उक्त पुस्तिकाको दोस्रो प्रकाशनमा निश्चय नै समावेस होला। पुस्तिका वनस्पति र वन संरक्षणमा चासो हुनेका लागि एक महत्वपूर्ण सामग्री हो। तराईको दुर्लभ वनस्पति समेटिएको देवनागरीमा लेखिएको यो नै सायद पहिलो पुस्तिका हो।

अन्त्यमा, फरेस्टएक्सन नेपालले साँच्चै मिहिन ढंगबाट जलथल जंगलको वनस्पति अध्ययन अनुसन्धान तथा संरक्षणमा काम गरिरहेको पुनः पुष्टि भएको छ। अध्येयताहरु लिलानाथ शर्मा, योगेन्द्र विक्रम पौडेल, भाष्कर अधिकारी र अस्मित सुब्बा बधाईका पात्र हुन्। सुब्बाले नेपालको लागि जलथल जंगलमा माछा र सरिसृपका एक–एक नयाँ प्रजाति पनि फेला पारेका छन्।

जलथल जंगलमा विश्वमै क्रिटिकल्ली इन्डेजर्ड (Critically Endangered) अवस्थामा रहेको जमिनमा रहने एक कछुवा प्रजाति पनि फेला पारेको छ। यसका अतिरिक्त पूर्वी नेपालका लागि थप ३ नयाँ सरिसृप जलथलबाटै थपिएको छ। यसै पनि नेपालको लागि नयाँ किसिमको जंगलका रुपमा रहेको जलथलमा विश्वमै दुर्लभ अवस्थामा रहेको रुख तथा जनावर रहेको खुशीको खबरलाई चीरस्थायी बनाउन जंगल जोगाउन स्थानीय, प्रदेश तथा केन्द्र सरकार लाग्नुपर्छ।हिमाल खबर पत्रिकाबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार