स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू सक्रिय रूपमा चुनाव प्रचारमा लागिरहेका छन् । विभिन्न जिल्लाहरूमा शीर्ष नेताहरूको दौडधुप चलेको छ । पार्टी प्रवेश गर्नेरगराउने क्रम जारी छ । चुनावी माहौललाई आफ्नो पक्षमा पार्न निर्वाचनमा आफ्नो दलले बहुमत प्राप्त गर्ने ठूला दलका नेताहरूले दावी गर्दै आएका छन् ।

नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने निर्णय गरेसँगै निर्वाचनमा गठबन्धले नै विजयी हासिल गर्न सक्ने अनुमान लगाउन सकिन्छ । तर कुन दलको शक्ति कति सञ्चित रहेको छ भन्ने कुरा चाहिँ आसन्न निर्वाचनको परिणामले नै देखाउने छ ।

एकातिर आसन्न चुनावको माहौल तातिरहेको छ भने अर्कोतिर निर्वाचन नै हुने वा नहुने भन्ने अन्योल पनि कायमै रहेको छ । सत्ता गठबन्धन दलहरूले निर्वाचन सार्ने गृहकार्य थालेको पनि स्रोतको दावी छ । स्रोतका दावीलाई आधार मान्ने हो भने तीनै तहको चुनाव एकैपटक गर्ने सम्बन्धमा सत्ता गठबन्धनबीच छलफल चलिरहेकोे छ ।

यद्यपि गठबन्धनको बैठकमा निर्वाचनको तयारी सुरू भैसकेको, आयोगले मत परिणाम छाप्ने कार्य आरम्भ गरेको र आयोगले आचारसंहिता पनि जारी गरिसकेको हुनाले निर्वाचनको मिति सार्न नहुने भनेर शीर्ष नेताहरूले नै भन्दै आएका छन् ।

कसको सम्भावना कति ?

निर्वाचनमा गठबन्धन मिलेर गए गठबन्धनमा आवद्ध दलहरूले स्पष्ट नतिजा ल्याउन सक्ने अनुमान गरिएको छ । पाँचदलीय गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आ–आफ्नो प्रभाव क्षेत्रमा गठबन्धन दलहरू एक आपसमा मिलेर जान सके भने परिणाम् पनि अपेक्षित हुन सक्छ । शीर्ष नेताहरूले गठबन्धन गर्ने तर तल्लो तहमा एक दलले अर्को दललाई भोट नहाल्ने स्थिति आयो भने अहिले गरिएको अनुमान भन्दा फरक नतिजा पनि आउन सक्छ । राप्रपा पनि आक्रमक रूपमा अगाडि आइरहेको अवस्था छ । अरू दलहरूले एमालेलाई एक्ल्याउन सके भने एमाले अप्ठ्यारोमा पर्ने निश्चित छ ।

के गर्ला नेकपा एमालेले ?

निर्वाचनको मिति घोषणा भएसँगै आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने भन्दै एमाले अध्यक्ष ओलीले उद्घोष गरिसकेका छन् । तर, स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूले तालमेल गर्ने निर्णय गरेसँगै नेकपा एमालेलाई बहुमत प्राप्त गर्न त्यति सहज भने छैन । यस्तोमा एमालेलाई अस्तित्व रक्षाको चिन्ता थपिएको छ । जसरी पनि गठबन्धन फुटाएर निर्वाचनमा पहिलो दल बन्ने होडमा रहेको एमाले सो प्रयास असफल भएसँगै निर्वाचन रणनीति परिवर्तन गर्ने तयारीमा रहेको छ । निर्वाचनमा एमालेलाई बहुमत दिलाउन तालमेलको आवश्यकता देखिन्छ । एमालेले कुनै दलसँग तालमेल नगर्ने उद्घोष गर्दै आएको भए पनि पाँचदलीय गठबन्धनका कारण एमाले अप्ठ्यारोमा पर्ने स्थिति आयो भने अन्तिम अवस्थामा ओली जस्तोसुकै निर्णय गर्न पनि पछि पर्ने छैनन् ।

भागवण्डामा सहमति जुटाउने प्रयास

गठबन्धन कायमै राख्न पाँचै दल सहमत भएसँगै नेताहरू भागवण्डामा सहमति जुटाउने प्रयासमा जुटेका छन् । चार महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा एकैपटक भागवण्डा मिलाउने गठबन्धनको तयारी छ । यसअघि नै काँग्रेसले जितेको स्थानीय तह काँग्रेसले नै लिने, माओवादी केन्द्रले जितेको ठाउँमा माओवादीले लिने तर एमालेले जितेको ठाउँमा भागवण्डा गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरिसकेका छन् । तर यसमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले असहमति जनाएका छन् र दुवै दलका अध्यक्षहरूले भागबण्डामा नयाँ ढङ्गले सहमति जुटाउने प्रयास गर्नुपर्ने भन्दै आएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार