वैदिक सनातन हिन्दु परम्परा अनुरुप भाद्र महिनाको औँशी तिथिको दिन कुशे औशी पर्व मनाइन्छ । यस पर्वलाई बाबुको मुख हेर्ने दिन, गोकर्ण औँशी आदि नामले पनि चिनिन्छ । यो पर्वलाई पितृ सम्मान र पारिवारिक पुनर्मिलनको पर्वको रुपमा लिईन्छ । यसै दिन वर्षभरि देव र पितृ कर्मका लागि चाहिने कुशलाई भण्डारण पनि गरिन्छ ।

कुश छेदनको नियम :- “पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोत्तरा मुखः। हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत्।।” ।।

बिहानै उठी स्नान गरि शुद्ध वस्त्र धारण गरि मन्त्रोच्चारण पूर्वक पूर्व वा उत्तर दिशा तर्फ फर्की “ॐ हुँ फट्” मन्त्र उच्चारण गरि कुश छेदन गर्नु पर्छ ।

कुश प्रार्थना :- “विरञ्चिना सहोत्पन्न परमेष्ठी निसर्गतः। नुदः सर्वाणि पापानिदर्भस्वस्ति करो भव।। “

पृथ्वी प्रार्थना मन्त्र;- “कुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशबः। कुशमूले वसेद् वह्म कुशान् मे देहि मेदिनि ।।”

(अग्र भागमा शिव , मध्य भागमा बिष्णु र मूल भागमा ब्रह्माले निवास गर्ने यो कुश मलाई प्रदान गर्नुहोस् ।)

कुशको अर्थ :- “कु”शब्दको अर्थ पाप र “श” शब्दको अर्थ शमन भन्ने हुन्छ। पापलाई शमन गर्न सक्ने शक्ति भएकाले यस वनस्पति लाई कुश भनिन्छ । वैज्ञानिक भाषामा कुश लाई Desmostachya bipinnata भनिन्छ।

कुशको प्रयोग :- “स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।।”

नुहाउदा,जप गर्दा,दान गर्दा,पाठ पूजा गर्दा,पितृकार्य गर्दा कुशको प्रयोग बहुपयोगी मानिन्छ । कुश सात्विक वनस्पति हो | यसले बुद्धिमता प्रदर्शित गर्दछ | कुशको प्रयोग कुशाशन बनाउन पनि गरीन्छ | कुशाशनको प्रयोग प्रत्येक शुभाशुभ कर्ममा गरिन्छ | कुशको आसन माथि बसेर जप गर्ने साधकले प्राप्त गर्ने ऊर्जा पृथ्वीमा जान पाउन्न | कुशको आसनले त्यो उर्जालाई पृथ्वीमा जान रोक्तछ अर्थात यतिखेर कुशले आफ्नो नैसर्गिक गुणहरुको कारण ऊर्जाको कुचालक सरह व्यवहार गर्दछ | यही सिद्धान्त पूजा-पाठ तथा धार्मिक कर्मकाण्डिय व्यवहारमा पनि लागु हुन्छ | देवपूजामा प्रयोग गरिएको कुश , कुशको अभाव भएको समयमा फेरि पुनः प्रयोग गर्न सकिन्छ तर पितृ तथा प्रेत कार्यमा प्रयोग गरिएका कुशहरु पुनः प्रयोगको लागि अपवित्र मानिन्छन् |

देवि देवताको पूजा ,यज्ञ,हवन , यज्ञोपवीत, (उपनयन ,व्रतवन्ध ,चूडा ) ग्रहशान्ति कर्म गर्दा रुद्र कलश एवं वरुण कलशमा जल भरेर कुश नै राखिन्छ | त्यसरी कलशमा कुश राख्नुको अर्थ वैज्ञानिक पक्षमा कलशमा भरिएको पानी लामो अवधी सम्म जीवाणु मुक्त रहन सक्छ भन्ने हो । ” पूजाकाले सर्व्वदैव कुशहस्तो भवेच्छुचिः । तर्ज्जन्या रजतं धार्य्यं स्वर्णंधार्य्यमनामया ॥” पूजा गर्दा साहिली औंलामा कुशको औंठी लगाइने गरिन्छ | कुशासनमा बसेर पूजा पाठ गरिंदा आरोग्य, लक्ष्मी प्राप्ति , यश र तेजको वृद्घि हुन्छ | साधकको एकाग्रतामा पनि विचलन आँउदैन। “कुशेन रहिता पूजा विफला कथिता मया ।।” कुश प्रयोग नगरिएको यज्ञ निष्फल हुन्छ । ** कुश र पुराण :- पौराणिक ग्रन्थ हरुमा कुश को उत्पत्ति का विषय मा अनेकौ कथाहरु पाइन्छन । विष्णु पुराण,महाभारत , महागरुड पुराण आदिमा कुशको प्रसङ्ग पाईन्छ । भगवान बिष्णुलाई परेको श्राप , गरुड्ले माता विनितालाई दासत्वबाट मुक्त गराउन गरेको प्रयास , बलरामजी र सुताजी को प्रसङ्ग , भगवान वराहको विश्राम गर्ने क्रममा पृथ्वीमा गिरेको रौँ आदि कथाहरुमा कुशको प्रसङ्ग पाईन्छ ।

कुश र आयुर्वेद :- “दर्भद्वयं त्रिदोषघ्नं मधुरं तुवरं हिमम् । मूत्रकृच्छ्राश्मरीतृष्णावस्तिरुक्प्रदरास्रजित्”।।” कुश शीतल ,रूचिकारक ,मधुर, टर्रो , स्निग्ध , कफकारक, शुक्र , र रक्त शोधक तथा कफ रक्त , रक्तपित्त , श्वास , तृषा , मूत्रकृच्छ्र , अतिशूल , कामला, प्रदर , रक्तविकार , विसर्प,वमन मूर्च्छा र अश्मरी (पत्थरी रोग ) नाश गर्ने हुन्छ | मानव शरीरको रक्त संग सम्बन्धित रोग तथा जण्डिस , पत्थरी ,छालामा देखिएका खटिरा नियन्त्रण गर्न कुशको प्रयोग गरिन्छ। मुटुरोग,आमाको दुध नआउने रोग ,क्षयरोग , चर्मरोग, रक्त विकार ,मृगौलाको पत्थरी ,दाह ,तिर्खा ,मूत्र विकार आदि रोग हरुमा कुशबाट निर्मित औषधिको सेवन फलदायी मानिन्छ।

कुश र विज्ञान :- वैज्ञानिक अनुसन्धानमा कुशको टुप्पामा “फोनेटिक भाइब्रेशन” सुचालन गर्ने क्षमता भएको कुरा पुष्टि भएको छ, विभिन्न उपकरणहरुबाट आउने विकिरण हरुलाई नाश गर्ने क्षमता कुशले राख्दछ। कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्त संचारलाइ समेत सहज बनाइदिन्छ । ग्रहण लागेको समयमा दहि , दुध, अन्न , पानी, खाद्य वस्तुहरुमा कुश राखी दिने हो भने ग्रहण कालमा निस्किएका परमाणुहरुको दुस् प्रभाव ती वस्तुहरुमा पर्दैन ।

कुशे औशी :- औँशी तिथिलाई सनातन धर्ममा पितृको उपासना गर्ने दिनका रुपमा लिइन्छ भाद्र महिनाको कृष्ण पक्षको औँशी तिथिलाई कुशे औँशी भनिन्छ ।

पिता शब्दको अर्थ :- संस्कृतको ‘पा रक्षणे’ धातुबाट ‘पिता’ शब्द बन्दछ | त्यसैले ” य: पाति स पिता’ ” भन्ने गरिन्छ | अर्थात जसले रक्षा गर्दछ त्यो पिता हो | उहिले महर्षि यास्कले निरुक्ति गर्दै भने -’पिता पाता वा पालयिता वा’-नि. ४ । २१ । ”पिता-गोपिता”-नि. ६ । १५ पालक, पोषक र रक्षक पिता हुन्। “जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति। अन्नदाता भयत्राता पंचैते पितर: स्मृता:।।” जन्म दिने ,यज्ञोपवीत आदि संस्कार गराईदिने , विद्या दिने, अन्न दिने तथा भयबाट जोगाउने – यी पाँचलाइ पिता समान मानिन्छ |

पिताको महत्व :- ” पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः। पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥ पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च। तस्य भागीरथीस्नानमहन्यहनि वर्तते॥ सर्वतीर्थमयी माता सर्वदेवमयः पिता। मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्॥ मातरं पितरंश्चैव यस्तु कुर्यात् प्रदक्षिणम्। प्रदक्षिणीकृता तेन सप्तदीपा वसुन्धरा॥” – पद्मपुराण

(पद्मपुराण अनुसार – पिता धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जस्को सेवा र सद्गुण बाट पिता-माता संतुष्ट रहन्छन्, त्यस सन्तानलाई प्रतिदिन गंगा-स्नान को पुण्य प्राप्त हुन्छ । माता सर्वतीर्थ स्वरुप हुन्छिन् भने पिता सम्पूर्ण देवताका स्वरूप हुन । यसैले हरेक प्रकारले माता-पिता आदर सम्मान गर्नु पर्दछ । माता-पिताको परिक्रमा गरेमा पृथ्वीको परिक्रमा गरे बराबरको फल पाईन्छ । त्यसैले हामीले जन्म दिने माता पिताको पूर्ण सम्मान गर्नुपर्दछ । “मातृदेवो भवः” “पितृदेवो भवः” , माता र पिता नै प्रत्यक्ष देवताका स्वरुप हुन् । सोहि अनुरुप कुशे औँशिमा पिताजीको सम्मान र आदर गरी यो पर्व मनाइन्छ। पिता हुनेले मीठा मीठा परिकार र राम्रा राम्रा वस्त्रहरु प्रदान गरी यो पर्व मनाउछन् भने पिता नहुने ले मृतक पितृको सम्झनामा तर्पण,पिण्ड दान, तीर्थ,व्रत , दान , पुण्य गरी पितृलाई श्रद्धा भाव व्यक्त गर्दछन् । – गिरीराज शर्मा पाैडेल – ओमकार

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार