द्रोण अधिकारी / भद्रपुर । फाल्गुण शुक्ल पूर्णिमाको दिन सत्यको जीत र असत्यको हार भएको पौणाणिक कहानी छ ।
पुराणका अनुसार बाबु हिरण्यकश्यपु असत्यको प्रतिक हो भने छोरो प्रह्लाद सत्यको प्रतिक रूपमा मानिएको छ ।
बाबुको आदेशमा प्रह्लादलाई मार्न गएकी होलिका आफैं आगोले जलेर भष्म भएपछि असत्यको अन्त्य भएको सम्झना गर्दैं होली मनाउन थालिएको हो ।
यसैगरी द्वापरयुगमा कंशद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि परम्परागत भनाइ पाइन्छ ।
पूर्णिमाको दिन पहाडी क्षेत्रमा मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । यस चलनसित गाँसिएको भनाइचाहिँ होलिका पूर्णिमाको मध्यान्नमा तप मार्फत प्रह्लाद जलाउन पहाडबाट प्रह्लादलाई काखी च्यापेर तराइतिर यात्रा गर्न थाल्छे । तराइमा आइपुग्दा होलिका खरानी हुन पुग्छे । त्यसैकारण तराइमा पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ ।
नेपालमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ । होलीका बेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्व छ भने रैथाने परिकारले समेत यो पर्वमा रौनक थपिन्छ ।
विगतको तुलनामा होली पर्व शान्ति र सद्भावको रूपमा विकास हुँदै गएको पाइन्छ । झापामा पनि होली उल्लासमय बनेर मनाइएको छ । दिनभर सामान्य रूपमै होली नाइएकै कारण शान्ति र सद्भाव कायम भएको प्रहरी प्रशासनको भनाइ छ ।