द्रोण अधिकारी / भद्रपुर । जीवनको उत्तरार्धमा पनि उत्तिकै फुर्तिलो र जोसिलो व्यक्तिका रूपमा टिडी सर ( टहलदास अधिकारी ८३ वर्ष) लाई झापा सदरमुकाम भद्रपुरमा साइकलमा भेटिने गर्छ ।

झापा भित्र रहेर ४१ वर्ष शिक्षण सेवा गर्नु भएका शिक्षासेवी टहलदास अधिकारी (टिडी सर) ८३ वर्षको उमेरमा पनि युवा जोस लिएर साइकलमै यात्रा गरिरहनु भएको देखिन्छ । शरीरको स्फुर्ति जागृत गराउँदै भद्रपुरभित्र आवतजावत गर्नु पर्दा टिडी अधिकारीले साइकललाई यात्राको साथी बनाएर हिडिरहनु भएको देखिने गरेको हो । वँहाले पढाएका कतिपय चेला चेलीले यो सन्सार छोडिसके होलान् तर टिडी सरको जोस जाँगरमा कुनै धमिलोपन देखिदैन । गणित—विज्ञान विषयमा झापामा पहिलो पुस्ताका संस्थापक शिक्षको पहिचान बनाउनु भएका अधिकारीले झापाभरी जति वटा विद्यालयमा पठनपाठन गराउनु भयो ती सवै विद्यालयमा विज्ञान विषय पठनपाठनको संस्थापक भएर इतिहास समेत निर्माण गर्नु भएको छ ।

माध्यमिक तहमा विज्ञान विषय अध्यापन गराउने शिक्षक नपाउँदा विज्ञान विषय पढ्न चाहने झापाली विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैन थिए ।
वि सं २०२३ सालमा भारतको दार्जेलिङमा रहेको सेन्ट जोफिज कलेजबाट विएस्सी उत्रीर्ण गरेपछि सोही सालको भदौदेखि भद्रपुर स्थित तत्कालिन पद्म भद्रपुर पब्लिक ईङ्लिस स्कुल ( हाल भद्रपुर मावि) मा गणित—विज्ञान शिक्षकका रूपमा नियुक्ति पाएपछि झापामा पहिलो विज्ञान पढाइ हुने विद्यालयको पहिचान भद्रपुर माविले प्राप्त गर्यो ।

यस्तो अवसर डिल्लीराज मावि टागनडुब्बा, गौरादह मावि गौरादह र हिमाली मावि पृथ्वी नगरले समेत प्राप्त गरेका थिए । यी सवै विद्यालयमा विज्ञान विषय पढाइ हुने वातावरण टिडी सरकै कारण संभव हुन गयो ।

अधिकारीका हजुरबुबा धनकुटाको कवाली अधिकारी टोलबाट काम तथा अवसरको खोजीमा भारतको पश्चिम बंगाल स्थित कालेङपोङको लेले बस्तीमा २८ जना सन्तान सहित बसाइ सर्नु भएका कारण टिडी अधिकारीको सन् १९४१ सेप्टेम्बर २१ का दिन त्यही जन्म हुन पुग्यो । जन्मले भारतीय तर रगतले नेपाली भएकै कारण अधिकारीलाई कालेङपोङको लेले बस्ती छोडेर नेपालमै सेवा गर्ने विचार बुबाले अगाडि बढाइ दिएपछि भद्रपुरमा रहेका काँइला काका भेट्न २०१७ सालको दशैं तिहार आसपासको समयमा भद्रपुर आइपुगेका अधिकारीले प्रवेशीका उत्रीर्ण भएकै वर्ष शिक्षक बन्ने अपसर प्राप्त भयो ।

३ वर्षको शिक्षणपछि स्नातक पूरा गर्न भारतको पश्चिम बंगाल स्थित दार्जेलिङ फर्किएका अधिकारीले ३ वर्षको कठोर परिश्रमपछि गणित—विज्ञान विषयमा स्नातक प्रथम श्रेणीमा उत्रीर्ण गरेपछि भद्रपुर माविमा पूर्णकालिन शिक्षक भएर गणित—विज्ञान विषयको अध्यापन अगाडि बढाउन सफलता मिल्यो ।

हुन त भद्रपुर माविमा २०१७ सालबाटै अस्थायी शिक्षक बन्नु भएका अधिकारीले उच्च शिक्षा हाँसित गर्ने क्रममा ३ वर्ष पढाउने काम छोडेर पढ्ने काम मात्र गर्नु भएको थियो । माध्यमिक तह पूरा गेपछि आफन्त भेट्न भारतबाट नेपालको सिमान्त क्षेत्र भद्रपुर आउनु भएका अधिकारी असल शिक्षक बन्ने वातावरण निर्माण भयो ।

अधिकारीले भद्रपुर माविमा ५ वर्ष शिक्षण गरिसकेपछि शिक्षा समितिले भद्रपुरबाट पश्चिम दक्षिणमा रहेको टागनडुब्बा माविको प्रअ बनाएर पठाएपछि करिव २ वर्ष त्यहाँको जिम्मेवारी सम्हाल्नु परो । नेपालमा वि सं २०२८ सालबाट नयाँ शिक्षा लागु गर्ने सरकारी घोषणा भएपछि कार्यान्वयन तहमा लैजान समयानुकुल शिक्षा बुझ्ने शिक्षकको खोजी हुन गयो । झापामा शिक्षाधिकारीको पहिलो रोजाइमा अधिकारी परेपछि गौरादह माविमा ६ महिनाका लागि भनेर पठाइएको थियो तर अर्को विकल्प शिक्षा समितिले नभेटेका कारण अधिकारीले ६ वर्ष त्यहीँ बसेर पढाउनु परेको थियो ।

भद्रपुरमा घर भएका अधिकारीलाई गौरादहको शिक्षण असहज भएपछि शिक्षा अधिकारीको सहयोगमा २०३६ भदौबाट झापाको पृथ्वीनगरको हिमाली माविमा आएपछि शिक्षणको क्रम २०४३ सम्म त्यहीँ कायम रहन पुग्यो ।

प्रधान अध्यापकको जिम्मेवारी लिन थालेपछि प्रशासनिक कार्यको अनुभव पाएका अधिकारीलाई वि सं २०४४ बैशाखबाट विज्ञान शिक्षा विकास इकाइ झापाको नेतृत्व गर्ने अवसर प्राप्त भयो । त्यस इकाइको काम माध्यमिक शिक्षा पूरा गरी निमाविसम्म गणित—विज्ञान विषय अध्यापन गर्ने शिक्षकलाई गणित र विज्ञान विषयमा दक्ष बनाएर शिक्षणमा पठाउने प्रशिक्षणको काम थियो ।

विद्यार्थीलाई गणित—विज्ञान पढाउनुभन्दा शिक्षकलाई प्रशिक्षण दिनु निकै कठिन र चुनौति पूर्ण काम भएको अनुभव भएपछि गणित—विज्ञानमा अमेरिकी शिक्षण प्रविधि म्यागेजिनबाट पढेर बुझेर प्रशिक्षण दिन थालेपछि अधिकारीलाई गणित विषयमा नयाँ र नौला प्रविधि बुझ्ने अवसर प्राप्त हुन गयो । जसको परिणाम गणित विषयमा झामामै उच्च क्षमता भएको शिक्षक÷प्रशिक्षक बन्ने मौका पनि प्राप्त भयो । २०५८ अशोजबाट अनिवार्य अवकास पाउनु भएका अधिकारीले शिक्षणसंग सम्बद्ध भएर ४१ वर्ष सेवामा बिताउनु भयो । आफ्नो काम र जिम्मेवारीमा सफल रहनु भएका अधिकारीले आफ्नो पेशालाई गौरव गर्न लायक बनाउनु भयो ।

प्रवासमा जन्मिएर पुर्खाको भूमिको सेवामा फर्कनु भएका अधिकारीलाई परिवारको जिम्मेवारीका कारण स्नाकोत्तर तह पूरा गर्ने सपना अधुरै छोड्नु परेकोमा गुनासो मनमा पाल्नु परिरहेको छ । नौ जना दाजुभाइ मध्ये पहिलो छोराका रूपमा जन्मिएका अधिकारीले सानैदेखि पढाइमा अब्बल भएकै कारण विज्ञान जस्तो कठोर विषय पढेर पनि प्रथम हुँदै भुटानका राजाबाट पुरस्कार प्राप्त गरेको स्मरण अझै ताजै छ । अधिकारी परिवार प्रवास छोडेर सवै नेपाल फर्कनुमा पनि टिडी सरको सफलता कुनै न कुनै रूमा परिवारसित गाँसिएको देखिन्छ । अहिले पनि घर व्यवहार चलाउने जिम्मेवारी सम्हाली रहनु भएका अधिकारी साइकलको साथ भने छोड्न चाहनु हुन्न ।

पछिल्लो समय अधिकारीको कामको उच्च मूल्याड्ढन गर्ने र सम्मान दिने कार्य सुरू भएको छ । २०८१ सालमा भद्रपुर माविका २०५४ समूहले गुरू पूर्णिमामा सामूहिक सम्मान गरेर सवै गुरू—गुरूआमाको कामको उच्च मूल्याड्ढनको थालनी गरेपछि अशोजमा गणित—विज्ञान ट्रष्ट नेपालले काठमाण्डौमा रथारोहण सहित सम्मान गर्दा ढिलै भए पनि राम्रो काम गर्नेले राम्रै सम्मान पाउने रहेछ भन्ने विश्वास दिलाएको छ ।
शिक्षण जस्तो पवित्र पेशा नअपनाएको भए टिडी सरलाई हजारौं विद्यार्थीले सम्झने थिएनन् भने सात फिट अग्ला घोडाले रथमा तानेर घुमाउने पनि थिएनन् भन्ने प्रभाव मनमा बस्ने नै थिएन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार