विक्रम सम्बत १७७९ पौष २७ गते आजैका दिन पिता नरभूपाल शाह एवम माता कौशल्यावती देवीको को प्रथम पुत्रको रुपमा जन्म लिएका हुन। उनी सानै उमेर देखि साहसी थिए। आज भन्दा करिब ३०० बर्ष अघि नेपालमा बाईसे र चौबिसे राज्यहरु थिए साथै बिभिन्न राजा रजौटाहरुले राज्य गरेका थिए। करिब बीस बर्षको उमेर देखि नै उनले नेपाललाई एकिकरण गरेर विशाल नेपालको निर्माण गर्ने सोच बनाएका थिए त्यही अनुसार नेपाललाई बाईसेचौबिसे राजा रजौटालाई साहसी कार्य गर्दै हालको नेपाल निर्माण गरेका हुन। त्यसैले पृथ्वीनारायण शाहको आदम्य साहसको कदर गर्दै हाल नेपाललाई समृद्ध बनाउन राजनीतिमा हिडेका सबै राजनेताले उहाँले गरेको कामबाट धेरै सिक्न जरुरी देखिन्छ।
पृथ्वीनारायण शाहको नेपालमा मात्र नभई दक्षिण एसियामा नै एउटा दुरदर्शी अनि राष्ट्रियता प्रतिको नेतृत्वका रुपमा हेरिन्छ। राष्ट्र निर्माताका रुपमा फ्रान्सका नेपोलियन वोनापार्ट, इटालीका जुसेप गरिबल्डी, अमेरिकाका जर्ज वासिङ्टन, जर्मनीका विस्मार्क जस्तै नेपालका पृथ्वीनारायण शाहलाई लिने गरिन्छ। हरेक बर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती हर्षोल्लास पूर्वक मनाइन्छ। उनकै जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाउने चलन छ। यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिदै राष्ट्रिय एकता दिवस मनाइन्छ।
आज पृथ्वीनारायण शाहमाथि अनेकन् प्रहार भैरहेको छ। उनी माथि निरङ्कुश, साम्राज्यवादी, आदिवासी जनजातिमाथि थिचोमिचो दमन गरेको किर्तिपुरवासीका नाककान काटेर १७ धार्नी नाककान भेला पारेको भनि हल्ला फिजाईएको छ। उनी माथि यति मात्र हैन यो भन्दा पनि धेरै गम्भीर र निकृष्ट प्रहारहरू भएका छन्। ऐतिहासिक र पुरातात्त्विक महत्व राख्ने उनका सालिकहरू ढलाईएका वा तोडफोड गरेका मात्र नभई उनलाई युद्ध अपराधिको रुपमा समेत प्रचार गरिएको छ। अहिले आएर उनका विरुद्धमा कैयौ लेख तथा पुस्तकहरु लेखेका छन् र यस्ता अधिकांश पुस्तकहरू कल्पना र हल्लामा मात्र आधारित छन्। त्यसो गर्नु पृथ्वीनारायण शाहको मात्र हैन नेपालको इतिहास माथिकै प्रहार र अपमान हो भनेर बुझ्न जरुरी छ। पृथ्वीनारायण शाहमाथि आक्रमण गरेर गणतन्त्र बलियो हुने होइन र उनीमाथिको आक्रमणले राजतन्त्र संग बदला लिने आसय राख्नु पनि गलत हो। एकिकरण अभियानका बेलामा पृथ्वीनारायण शाहमा केही कमजोरीहरू थिए होलान् तर ती कमजोरीहरू उनको महान अभियानका सामु गौण छन्। (२०) बीस बर्षको उमेरमा एकिकरणको महत्वकाङ्क्षा राखेर सफल्ताको बाटोमा हिड्ने आदम्य साहस भएका यी राजा संग आजको पुस्ताले सिक्नुपर्ने धेरै कुरा छन। करिब तीनसय बर्ष पछि उत्पात मचाएर उल्लेख गर्नुपर्ने विषय नभई केवल साधारण कमजोरीका रुपमा मुल्याङ्कन गर्नै विषय हुन्।
“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन”
“नेपाल दुई ढुङ्गा बीचको तरूल हो”
यस्ता दिव्योपदेशका दुरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छ।
पृथ्वीनारायण शाहको कुरा गर्दा यीनका साहसी सेनानीहरू मध्ये कालु पाण्डेलाई विर्सन हुदैन। किर्तिपुर युद्धमा पृथ्वीनारायण शाहको दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए। अनत्योष्टि पश्चात् स-सम्मान काठमाण्डौं थानकोट नजिक रहेको इन्द्रदहमा उनको समाधि अझै पनि रहेको छ। आधुनिक नेपालको खाका कोर्ने यिनै राजालेनै गोर्खामा देखेको काठमाण्डौको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाह वंशको इतिहासको नया आयाम प्रार्दुर्भाव गरेका हुन। विक्रम सम्बत १८३१ मा मृत्यु भएका यी दुरगामी शासकका छोरा प्रतापसिंह लगायत क्रमश शाह सन्ततिका शासकहरूले विक्रम सम्बत ०६२/०६३ को जन आन्दोलनको माग अनुरुप शासन सत्ता बाट अपदस्त गराई २०६५ जेठ १५ गते गणतन्त्रात्मक नेपालको स्थापित गराइएको हो। खासगरि भन्ने हो भने अपदस्त पनि हैन भन्न सकिन्छ। पूर्व राजा ज्ञानेन्द्र शाहले राजगद्दीको त्यागेर मन्त्री परिषदको अध्यक्ष भएका कारण अपदस्त हुनु परेको हो।
पृथ्वीनारायण शाहको शालिकहरु नेपालका धेरै शहरहरू अनि चोकहरूमा छन्। प्राय: चोर औला माथि उठाएर उभिएको स्वरूपमा देखिने यिनको सालिक तथा तस्विरले नेपाली जनलाई सदैव एकताको सन्देश दिइरहेको छ, साथै दिइरहने छ। काठमाण्डौं र गोर्खा बीचमा पर्ने नुवाकोट भूभागलाई विजय गरि काठमाण्डौं छिरेका यिनले काठमाण्डौको उत्तर पट्टि रहेको चन्द्रागिरि डाँडाबाट जब काठमाण्डौं खाडललाई नियाले त्यस क्षण काठमाण्डौको सौन्दर्यताले पृथ्वीनारायण शाहलाई लालायित बनाएको थियो। रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनीति लगाएर क्रमश काठमाण्डौं, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भूभागहरु जितका हुन र अहिलेको विशाल नेपालको निर्माण गरेका हुन।
अन्त्यमा सडक तथा सदन दुबै तर्फ अहिले लोकतन्त्र अनि शक्ति विकेन्द्रिकरणका नाराहरु घन्किएका छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई कहिकतै देश अनि देशवासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ। देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो होइन याहा पाइलाहरू मेटिदैन। पृथ्वीनारायण शाहको आवाज अनि दुरदृष्टिहरु आज पनि दिव्योपदेशका रूपमा अनि चन्द्रागिरि डाँडा साथै सगरमाथाको अग्लो चुचुरोबाट हामी सबैलाई नियाल्दैछन्। धन्यवाद