जलथल (झापा) । झापाको हल्दीबारी गाउँपालिका वडा नं. ४ कार्यालयको आयोजनामा मंगलबार एकदिवसीय निःशुल्क आँखा, नाक, कान तथा घाँटी सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई लक्षित गरी वडा कार्यालयकै सभाहलमा शिविर सञ्चालन गरिएको हो ।

​बिर्तामोडस्थित मेची दृष्टि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरको उद्घाटन विशेष समारोहका बीच गरिएको थियो । हल्दीबारी वडा नं. ४ का वडाध्यक्ष सन्त कुमार थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन प्रमुख अतिथि रहनुभएको थियो ।

​कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउँदै यस्ता शिविरले विपन्न नागरिकको घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन ठूलो मद्दत पुग्ने उल्लेख गर्नुभयो । उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र र वडा नं. २ का वडाध्यक्ष शुकलाल राजवंशी लगायत स्थानीय जनप्रतिनिधि एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

​वडा सचिव टिकाराम ढकालका अनुसार स्थानीय ३२० जना नागरिकहरूले उत्साहजनक रूपमा शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराएका छन् । विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरी आवश्यक परामर्शका साथै निःशुल्क औषधि समेत वितरण गरेको थियो । गाउँघरमै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गराउन पाएपछि स्थानीय विपन्न तथा ज्येष्ठ नागरिकहरू निकै हर्षित देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार