रामेछापकोे विकासको चर्चा गर्नु अगाडी यो लेखमा रामेछाप जिल्लाको पृष्ठभूमि केलाउने प्रयास गरेको छु । यो क्षेत्रका धेरै ठाउँहरु छापसँग जोडिएका छन् र नामको पछाडी छाप जोडिएको छ । जस्तै रामेछाप, छिमेकी जिल्ला दोलखाको किराँतछाप, सिन्धुलीको नयाँ छाप, काभ्रेको थिंछाप आदि । कुनै बेला नयाँ बिर्ता सिर्जना गरी बाँडिएको जग्गा वा ठाउँलाई छाप भनिन्थ्यो ।

त्यसैले रामे वा राजेभन्ने कुनै मान्छेले बिर्ता पाएको ठाउँलाई रामेछाप भनियो होला, थिँ थरका व्यक्तिले बिर्ता पाएको ठाउँलाई थिँछाप, किराँतले विर्ता पाएको ठाउँलाई किराँतछाप भनियो होला भनि अनुमान लगाउन सकिन्छ । तामाङ भाषामा ठाउँ विशेष यसको अनेकौं अर्थ लगाइन्छ । तामाङ भाषमा छाप भन्नाले ठाउँ, थलो, गाउँ भन्ने बुझिन्छ । यति चाहिं भन्न सकिन्छ कुनै बेला यस क्षेत्रमा किराँतहरुको ठूलै प्रभाव थियो । किराँत राजा यलम्बरले पश्चिममा त्रिसुलीदेखि पूर्वमा टिष्टासम्म राज्य विस्तार गरेको इमान सिंह चेम्जोङले हिष्ट्री एण्ड कल्चर अफ किराँती पुस्तकमा उल्लेख गरेका छन् । पन्ध्रौं शताब्दीसम्म आइपुग्दा रामेछाप मल्ल राज्यभित्र रहेको थियो । यक्ष मल्लको निधनपछि उनका छोराहरु भिन्न हुँदा रण मल्लले बनेपामा राज्य गरेपछि रामेछाप रण मल्लकै अधिनमा गएको इतिहास पाइन्छ ।

केही वर्षपछि नै बनेपा राज्य भक्तपुरमा विलिन हुन पुग्यो, त्यसपछि भक्तपुरबाट रामेछाप शासित हुन थालेको हो । काठमाडौ उपत्यका पृथ्वीनारायण शाहको अधिनमा आउनु अघि नै ईस्वी सम्वत् १७५४ अगष्टमा पत्रलेखेर रामेछापलाई आफ्नो अधिनमा ल्याइसकेका थिए उनले । उसबेला जनहितको निम्ति शासन गर्नेभन्दा पनि व्यक्तिगत इच्छा पुरा गर्नको लागि शासन गर्ने महत्वकांक्षा राखिन्थ्यो । तर मुलुकमा प्रजातन्त्र आएको पनि ७० वर्ष भइसकेको छ । यसबीचमा पनि रामेछापको विकास किन हुन सकेनन् त भन्ने मेरो मूल प्रश्न हो । रामेछाप जिल्लाबाट पञ्चायकालदेखि गणतन्त्रकालसम्म पुग्दा सूर्यप्रसाद उपाध्याय र नवराज सुवेदी बाहेक कसैले मन्त्रीसम्म बन्ने हैसियत राखेनन् । मुलुकमा पुनः प्रजातन्त्रको उदय भएपछि केही वर्ष रामेछापबाट निर्वाचित लक्ष्मण प्रशाद घिमिरे जलश्रोत राज्यमन्त्री बन्नु भयो । कामका हिसाबले उहाँको नाम गणनामा गर्न सकिन्छ ।

त्यसपछि मन्त्री बनेका इन्द्रप्रसाद ढुंगेल, कमल चौंलागाई, माधवप्रसाद पौडेल, राज्यमन्त्री बनेका रामहरि ढुंगेल, श्यामकुमार श्रेष्ठ कसैको विकासका दृष्टिले गणना गर्नु पर्ने स्थिति छैन । अहिलेका प्रदेश मन्त्री कैलाश ढुंगेलबाट पनि रामेछापले दीर्घकालीन र देखाउन मिल्ने विकासको लाभ लिन सकेको छैन । खुद्राखाद्री काममै उनको ध्यान केन्द्रीत भएको छ । त्यसैले निर्वाचनका क्रममा व्यक्ति छनोटलाई महत्वपूर्ण विषय बनाइनु पर्छ । नत्र हतारमा निर्णय गर्ने र फुर्सदमा पश्चताप गर्ने दिन आउँछ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामेछापको ठूलो योगदान थियो भन्ने कुरा सूर्यप्रसाद ढुंगेल उपाध्यायको इतिहास हेर्दा जानकारी हुन्छ । राणाकालमै उच्च सरकारी ओहोदामा पुग्नु भएका सूर्यप्रसादलाई नेपाली कांग्रेसमा बिग फोरका एक सदस्यका रुपमा लिइन्थ्यो ।

२०१७ सालअघि सम्म वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर राणा र सूर्यप्रसाद उपाध्यायको सामूहिक निर्णयबाट कांग्रेस सञ्चालित हुन्थ्यो । भारतको दरभंगामा २००५ साल पुष १५ कोलकत्ताको भेलाबाट नेपाल प्रजातन्त्र काँग्रेसको प्रधानमन्त्री बन्नु भएको थियो उपाध्याय । पार्टीको सभापति महेन्द्रविक्रम शाह थिए भने सहायक प्रधानमन्त्रीमा प्रेमबहादुर कंशाकार हुनुहुन्थ्यो । कोलकातामा २००६ साल चैत २७, २८ र २९ गते भएको चौथो महाधिवेशनमा दुई काँग्रेस एक भए । र, महाधिवेशनबाट नेपाली काँग्रेस जन्म हुँदा सूर्यप्रसाद उपाध्याय कार्यसमितिमा पर्नु भयो । पाँचौ, छैठौं र ललिता निवास, काठमाडौंमा २०१७ साल बैशाख २५ देखि ३१ सम्म भएको महाधिवेशन सम्म कहिल्यै उहाँ कार्यसमितिमा पर्न छुट्नु भएन । यसअघि २०१४ साल जेठ १० गते विराटनगरमा भएको विशेष महाधिवेसनबाट उहाँलाई महामन्त्रीको जिम्मेवारी दिइएको थियो ।

उहाँको काठमाडौंदेखि दिल्लीसम्म बलियो पहुँच थियो । २००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपाध्याय गृह र खाद्य मन्त्री हुनुहुन्थ्यो । २०१६ साल जेठ १३ गते वीपी कोइराला नेतृत्वको निर्वाचित सरकारमा पनि उहाँलाई गृह र कानुन मन्त्री बनाइएको थियो । जवकि उहाँले काठमाडौं र रामेछाप दुवै ठाउँबाट चुनाव हार्नु भएको थियो । नेपालको राजनीतिमा रामेछापको उपस्थिति कुनै बेला अनिवार्य मानिन्थ्यो । यसैले व्यक्तिको हैसियतमाथि मैले चर्चा गर्न खोजेको हुँ । १९७० वैशाख १९ मा जन्मिएका सूर्यप्रसादले दरबार हाइस्कुलबाट मेट्रीक र पटनाबाट एमए (इतिहास), बीएल तथा बीटी गरेका थिए । अत्यन्तै अध्ययनशील रहने यिनलाई देशभरका घटना परिघटना, विश्व राजनीतिको जानकारी हुन्थ्यो ।

उपाध्यायको २०४१ साल असार १५ गते निधन भयो । त्यसअघि नै राजनीतिमा उदायका नवराज सुवेदी अनेकौं मान्त्रालय र राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत भए । पञ्चायतमा काम गर्नु भएका सुवेदीको मैले चर्चा गर्न चाहिन । किन भने पात्रहरु जो देखिएको भए पनि शासन राजाकै हातमा थियो त्यसबेला, उनी जे चाहन्थे त्यही मात्र हुन्थ्यो । स्वतन्त्र हैसियत पञ्चहरु कसैको थिएन ।

हैसियत हुनेहरु पञ्चायत विरुद्धको राजनीतिमा थिए । रामेछापको अहिलेको अबस्था रामेछापको विगतलाई हेर्दा जनताले निर्वाचनमा विजयी गराउँदा एक जना पनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सक्ने व्यक्ति चयन गर्न सकेनन् ? कि निर्वाचित हुनेहरुले आफ्नो व्यक्तित्व विकास गर्न नसकेका हुन् ? कि हामीले नै कहिल्यै राष्ट्रिय हैसियत बनाउन नसक्नेहरुलाई निर्वाचित गरेर पाठाएको छौं ? मलाई घरीघरी यो कुराले बेचैन गराउँछ । गत वर्ष मात्र रामेछाप जिल्लाका लागि २ अर्ब ५० करोड ४१ लाख रकम सरकारले विनियोजन गरेको थियो । रामेछापको लागि यो बजेट अत्यान्तै अपुग हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार