‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगरौं, मिलाएर लैजाऔं भन्दै अर्को पक्षका नेतासँग कुरा गर्न सक्रिय भए । बरु, छिटो महाधिवेशन गर्ने भन्ने थियो, उनको जोड । उनले कुरा गरेका नेतालाई आश्वस्त पारे– प्रधानमन्त्रीले संसद विघटन, पार्टी विभाजन यस्तो केही पनि गर्नुहुन्न ।
प्रधानमन्त्रीले प्रचण्डसँगको अन्तिम भेटमा भनेझैं प्रदीप ज्ञवालीले अँगेनो लाउञ्जमा भेला भएका स्थायी कमिटी सदस्यमध्ये चार–पाँचजनासँग कुरा गरिसक्यौं भन्ने गरेका छन् । को होलान् त ती चार–पाँच जना स्थायी कमिटी सदस्य रु अर्को समूहले यसको खोजी गर्दा तथ्य फेला पारेन । बरु, केपीलाई साथ दिन्छन् कि भन्ने परेका टोपबहादुर रायमाझीले प्रष्ट पारेका छन्, ‘उता ( केपी) समर्थन गर्दिनँ, बरु बीचमा बस्छु ।’
अनि, प्रधानमन्त्रीसँग भेट गरेका कारण उतै साथ दिन्छन् कि भनिएका मणि थापाको असन्तुष्टि जिम्मेवारी दिएनन् भन्नेमात्रै हो । प्रचण्डलाई धोका नै दिन्छन् भन्नेमा त्यता विश्वास गरिएको छैन । र, प्रधानमन्त्रीको राजीनामाका पक्षमा आफ्नो कित्ता प्रष्ट पारिसकेका गृहमन्त्री बादल केपीतिरै फर्किने अवस्था नरहेको विश्लेषण नेताबीच चलेको छ । अन्ततः प्रधानमन्त्रीले एउटा पदबाट मात्र हटेर पार्टी नफुटाउने लाइन लिने सम्भावना रहेको बताइन्छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।