– डा. लिलानाथ शर्मा

वन क्षेत्रमा एउटा  मिचाहा वनस्पति नियन्त्रण र  वनको पुनस्थापना सम्बन्धी एक छलफल कार्यक्रममा दुई  जना विज्ञबीच तर्कबाटलेखको विषयवस्तु सुरु गरौँ l

लहरे वनमारा वा प्यांग्री लहरा भनिने माइकेनिया मिक्रान्था  नाम गरेको एउटा मिचाहा वनस्पति नेपालको पूर्वी र मध्य तराई  क्षेत्रवाट पश्चिम तर्फ  फैलँदै  छ र वन तथा सिमसार क्षेत्रमा यसको घनत्व बढ्दो छ l नेपाल सहित दक्षिण र दक्षिण पूर्वी  एसिया एवंप्रशान्त क्षेत्रमा नै एउटा जटिल वातावरणीय चुनौती बनेको छ  यो वनस्पति   l त्यही मिचाहा वनस्पति  व्यवस्थापन सम्बन्धी एउटाछलफल कार्यक्रममा यो प्रजाति नियन्त्रणमा स्थानीयले गरेको सङ्घर्ष सुनेपछि  एकजना इकोलोजिस्टले उपाय सुझाए l माइकेनियाकोझाडी काट्ने फाड्ने सँगसँगै  वनमा पहिले देखी नै भएका रैथाने वनस्पति हुर्काउने र रैथाने प्रजातिकै रुखको वृक्षारोपण गरीदीर्घकालीन रुपमा माइकेनिया नियन्त्रण गर्ने l उनले अगाडि थपे नेपालको हैसियत बिग्रेको वनमा समेत  रुखको  पुनरुत्पादन क्षमता राम्रो देखिन्छ l यस्तो सुनेपछि एकजना वन प्राविधिकले यो उपाय त्यति ब्यवाहारीक नभएको हुँदा स्थानीयलाई  टिकको रूख रोप्न सुझाब दिए l उनको तर्क थियो टिक छिटो बढ्छ, काठ पनि उत्पादन हुन्छ र यसको तल माइकेनिया बढ्न पनि पाउदैन ! इकोलोजिस्टले तर्क गरे टिक रोप्नु भनेको बनभित्र हरित मरुभूमिको विकास गर्नु हो l वन प्राविधिकको तर्क थियो रैथाने बिरुवाको वृक्षारोपणमर्फत नियन्त्रण सुस्त र खर्चिलो हुन्छ l

 सरसर्ती हेर्दा आआफ्ना शैक्षिक र व्यवसायिक पृष्ठभूमिमा दुवैले प्रस्तुत गरेका उपाय र तर्कहरू आफैमा गलत थिएनन् l तर जव कुन प्रजाति काँहा वृक्षारोपण गरिंदै छ भन्ने पृष्ठभूमिमा यो छलफल लाई हेर्दा उपर्युक्त हुन्छ होला l विज्ञहरूको उल्लेखित बहस र  तराईक्षेत्रमा प्राकृतिक वन भित्र भएका वृक्षारोपणहरुको अवलोकनलाई सँगै राखेरहेर्दा नेपालमा वृक्षारोपण र वनको पुनर्स्थापना सम्बन्धी विषयमा नीतिगत र व्यवहारिक दुवै पक्षमा  बहस हुनपर्नेआवश्यकता देखिन्छ l

वन क्षेत्रमा वृक्षारोपण
नेपालमा निजी र सार्वजनिक जमिनमा वृक्षारोपण गर्ने कार्य मौलिक र  अनौपचारिक रूपले सदियौँ देखि चल्दै आएको
भएता पनि सन् १९७० पछि  वन क्षेत्रमा वृक्षारोपणले औपचारिकता पाएको देखिन्छ !  पहाडमा उजाड भएका डाँडा पाखामासामुदायिक वन कार्यक्रम सँगसँगै कतिपय अवस्थामा दात्री निकाय समेतको सहयोगमा वृक्षारोपण कार्यक्रमहरू सम्पन्न भए l तराई क्षेत्रमा पनि सागरनाथ र रतुवामाई जस्ता बन परियोजनाले केही ठुलो स्तरमा वृक्षारोपण सुरुवात गरे l
तराईका सामुदायिक वन लगायत  नदी तट र खुला ठाउँमा पछिल्लो ४ दशकमा विभिन्न स्तरमा वृक्षारोपण कार्यक्रमहरू सञ्चालित गरिएका छन् l अहिले तराई क्षेत्रमा वन र सार्वजनिक जग्गामा भएका वृक्षारोपण हेर्दा सालको वन भित्र समेत वृक्षारोपण भएको देखिन्छ ! सागरनाथ वन परियोजना त छिटो हुर्किने रूख लगाउने नाममा सालको रुख काटेर वृक्षारोपण गरेको भनेर आलोचित छ l सिन्धुपाल्चोक, काभ्रे र दोलखा जिल्लामा सामुदायिक  वनको सुरुवाती चरणमा व्यापक वृक्षारोपण गरियो र यो क्रम अन्य जिल्लाका सामुदायिक वनहरुमा समेत फैलिन थाल्यो l  पहाड र तराइका वन क्षेत्र भित्र भएका वृक्षारोपणमा एउटा ध्यान दिनुपर्ने कुरा के छ भने त्यहाँ प्रजातिको चयन l यहाँ उठाउन खोजिएको विषयवस्तु हो प्राकृतिक वनक्षेत्र भित्र बाह्य प्रजातिहरूको प्रवेश l

पङ्क्तिकारको व्यक्तिगत अवलोकनका क्रममा तराईका  वनहरुमा बाह्य प्रजातिहरूको वृक्षारोपण गरिएका प्रशस्तै उदाहरणहरू छन l  पहाडमा  पाटे सल्ला र तराइमा  मसला, टिक र  मलेसियन साल जस्ता प्रजातिहरू रोपिएका छन्  lपछिल्लो समयमा पौलोनिया , मलेसियन साल र चप्रासी  जस्ता रुखका प्रजातिहरू पनि हाम्रो वन क्षेत्रमा छिटपुट रुपमा प्रवेश गर्दै छन् l नेपालको तराई र चुरे क्षेत्रमा गरिने वृक्षरोपणका आधा आधा जस्तो हिस्सा मसला जातको रूख हुने गरेको एक अध्ययनले देखाएको छ l  यहाँ उल्लेख गरिएका   रुखका प्रजातिहरू हाम्रो प्राकृतिक वनका अवयव हैनन् l यिनीहरु मध्ये धेरै जसो अन्य महादेशबाट नेपालमा भित्र्याइएका हुन् l नेपालमा अन्यत्रबाट रूखहरू ल्याएर  रोप्नै नहुने भन्ने हैन तर हामीले कहाँ कस्ता रूख रोप्ने र प्राकृतिक वनमा बाह्य प्रजातिहरू रोप्ने कि नरोप्ने भन्ने सवालमा अव विचार गर्नु पर्छ l

अन्तरास्ट्रिय अनुभव र बैज्ञानिकलाइ सुनौ

पछिल्लो समयमा वृक्षारोपणलाई  जलवायु परिवर्तन बिरुद्दको एक अत्यन्तै  महत्वपूर्ण र श्रेष्ठ  रणनिति मानिएको छ  l रूखहरूले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्यासलाई प्रकाश संश्लेषण क्रिया मार्फत जीवित पिण्डमा परिणत गर्ने क्षमतालाइ जलबायु परिवर्तनको दर कम गराउन बरदान नै मानिएको छ l  पृथ्वीको तापक्रम ब्रिद्दि लाई १.५ डि.से. भन्दा काममा सीमित गर्ने अन्तराष्ट्रिय लक्ष्य  आत्मसात गर्दै  संसारभर नै वृक्षारोपण  अभियानहरू सञ्चालन गरिएका छन्  l बोन च्यालेन्ज अन्तर्गत ३५० मिलियन हेक्टर वन पुनर्स्थापना वा रेस्टोरेसन गर्ने महत्वाकांक्षी लक्ष्यमा  ५० औं देशहरू लागेका छन् l यो कार्यक्रम अन्तर्गत विशेष गरि  भूमध्य क्षेत्र वरिपरिका देशहरूमा अरबौँको सङ्ख्यामा रूखहरू रोपिने छन्  l  सोझो रुपमा हेर्दा वृक्षारोपण आफैमा एक पुनीत कार्य हो र वातावरणमा यिनको सकारात्मक भूमिका हुन्छ l तर  यसरी  सञ्चालन गरिएका वृक्षारोपण विशेष गरी  भूमध्य क्षेत्र वरिपरिका देशहरूमा आलोचित बन्न पुगेका छन् l मित्र राष्ट्र भारत र बेलायतमा समेत वृक्षारोपण कार्यक्रम हरु आलोचित बन्न पुगेका छन् l

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक साइमन लेविस  नेतृत्वमा भएको अध्ययन अनुसार प्राकृतिक वनको कार्बन सञ्चिति क्षमता वृक्षारोपणको  तुलनामा ४० गुणा बढी हुन्छ  l त्यसै गरि युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक रोबर्ट हेल्मेयर नेतृत्वमा दक्षिण अमेरिकी राष्ट्र  चिलीमा वृक्षारोपण र प्राकृतिक वनमा गरिएको तुलनात्मक  अध्ययनले पनि वृक्षारोपणले प्राकृतिक वन खुम्चिने, जैविक  विविधतामा प्रतिकुल असर पार्ने,  कार्बन सञ्चिती समेत सोचे भन्दा कम हुने र वृक्षारोपण अनुमान गरेभन्दा धेरै नै खर्चिलो हुने देखाएको छ l प्राध्यापक साइमन र  हेल्मेयर नेतृत्वका छुट्टा छुट्टै अध्ययनको निष्कर्ष छ जलवायु परिवर्तनसँग जुध्न र जैविक विविधता संरक्षण गर्न प्राकृतिक वनको संरक्षण र प्राकृतिक पुनरुत्पादनको प्रबर्द्धन  वृक्षारोपण भन्दा धेरै नै प्रभावकारी विधि हो l नेपालमा भूमध्य क्षेत्रीय र बढी बन फडानी हुने ब्राजिल इन्डोनेसिया जस्ता देशहरूमा जस्तो वृक्षारोपण सम्भव र आवश्यक त छैन नै तर पनि ती देशहरूको अनुभव र अध्ययनहरूबाट अवश्य पनि केही सिक्न सकिन्छ l

वन जङ्गलमा बाह्य प्रजाति रोप्ने कुरामा ध्यान  पुर्याउन नसक्दा  वातावरणमा प्रतिकुल असर पारेका थुप्रै उदाहरणहरू छन्  l नर्वे लगायत पश्चिम युरोपमा काठको आवश्यकता  पुरा गर्नलाई अमेरिकाबाट ल्याएर सिटका स्प्रुस जातको रूख
रोपियो , यो रूख त्यहाँको हावापानी र माटोमा छिटो बढ्ने खालको थियो l समयक्रममा यो रूख खुला क्षेत्र र वन जङ्गलमा आफै फैलन थाल्यो जुन अपेक्षित थिएन l अहिले त्यो रूख त्यहाँ टाउको दुखाइको  बिषय बनेको छ l त्यसै गरि अस्ट्रेलियाबाट काठ, बिजुलीको पोल  र कागज उद्योगको लागी  अफ्रिकामा भित्र्याइएका टिक जातका (यूक्यलिपटस) केही प्रजातिहरू त्यहाँ  मिचाहा प्रजाति बनेका छन् l

त्यस्ता प्रजातिले पानी सुकाएको, आगलागीको जोखिम बढाएको र रैथाने प्रजातिको ब्रिद्दिमा नकारात्मक  असर पारेको  भनी नियन्त्रण प्रयास सुरु गरिएको छ र नियन्त्रण प्रयासमा ठुलो धनराशी खर्च गरिएको छ  तर नियन्त्रण धेरै टाढा देखिन्छ  l त्यसै गरी भारतमा समेत बृटिश राजको समयमा भित्र्याइएको ;किकार; भनिने एउटा प्रजाति प्राकृतिक वनमा फैलिदै जाँदा जैविक विविधतामा प्रतक्ष्य  असर परेको भनी चिन्ता व्यक्त गरिएको छ र नियन्त्रणका प्रयासहरू गरिएको छ l यस्ता मिचाहा प्रजातिहरू एकपटक फैलिए पश्चात नियन्त्रण निकै जटिल र खर्चिलो हुने कुरा संसारभरिको अनुभववाट सिक्न सकिन्छ !

वृक्षारोपण प्रबर्द्धन गर्ने नीति तथा कार्यक्रमहरू 

नेपालमा गत वर्षमात्रै जारी गरीएको वन ऐनले बिकाश निर्माणमा हुने वन क्षेत्रको प्रयोगको क्षतिपूर्ति गर्ने व्यवस्था गरेको छ यो व्यवस्थाले वृक्षारोपणलाइ कानुनी रुपमा नै बाध्यकारी गराएको छ  l योजना कार्यन्वयन गर्दा काटिने प्रत्येक रुख बराबर १० वटा रूख रोप्नु पर्ने व्यवस्था गरिएको छ ! सट्टा भर्ना गरिने वृक्षारोपणमा कस्तो प्रजाति रोप्ने भन्ने प्रष्टता देखिदैन l यो व्यवस्था राम्रो छ तर पनि  यसले प्राकृतिक वन मासेको क्षतिपूर्ति नयाँ वृक्षारोपणले गर्न सक्छ भन्ने मान्यतालाई स्थापित गर्ने जोखिम हुन सक्छ  l

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई राष्ट्रिय वृक्षारोपण वर्ष घोषणा गरि पाँच  करोड रूख रोप्ने  लक्ष्य रहेको  थियो l यो कार्यक्रममा बाह्य वनस्पति समेत रोपिएका थिए l डिभिजन वन कार्यालयहरू, सामुदायिक वन र अन्य सार्वजनिक संस्थाहरूले  यो वर्ष पनि वृक्षारोपण  जारी राखेका छन् l राष्ट्रिय र स्थानीय रुपमा निरन्तर हुने वृक्षारोपण कार्यक्रमहरूमा प्रजातिको चयनमा ध्यान दिनेगरी कुनै स्पष्ट मार्गदर्शन छैन भन्ने कुरा वन र सार्वजनिक जमिनमा हुने वृक्षारोपणवाट प्रस्ट हुन्छ l

 अन्त्यमा

जैविक विविधता संरक्षण, वनबाट प्राप्त हुने कार्वन सञ्चिती लगायत  सततः वातावरणीय सेवाहरू वृक्षरोपणबाट प्राप्त हुने सम्भावना निकै कम हुन्छ l अवस्था बिग्रेको, खण्डित भएको, छत्र घनत्व पातलो भएको,  रुखको घनत्व कम भएको र मिचाहा प्रजातिले चरम अतिक्रमण गरेको वन क्षेत्रमा स्थानीय स्तरमा चलेको वृक्षारोपण सम्बन्धमा पुनर्विचार गरिनु पर्दछ l यस्ता वन क्षेत्रको प्राकृतिक पुनरुत्पादन  क्षमतालाइ उपयोग गर्दै वन क्षेत्रको पुनर्स्थापना गर्न सकिन्छ l  जैविक विविधता संरक्षण,   स्थानीय समुदायलाई  वनबाट प्राप्तहुने बस्तु तथा सेवाहरूको सुनिश्चितता र कार्वन सञ्चिती लगायत दीर्घकालिक फाइदाको लागि वृक्षारोपण भन्दा प्राकृतिक पुनरुत्पादन नै बढी राम्रो हुने हुदा प्राकृतिक पुनरुत्पादनलाई प्रश्रय दिने गरी नीतिगत व्यवस्था गरिनुपर्ने आवश्यकता देखिन्छ l

वनक्षेत्र भित्र हुने वृक्षारोपणमा टिक र मसला जस्ता रूखहरू बन्देज गर्ने  र रोपिएका पनि हटाउँदै वनको पुनर्स्थापनामा जोड दिनु पर्ने देखिन्छ l आर्थिक लाभको लागी  छिटो बढ्ने र फाइदा दिने बाह्य  रूखहरूको वातावरणीय जोखिम कम हुने गरि निजी जमिनमा वृक्षारोपण गर्न सकिन्छ  l त्यसै गरि सडक छेउको वृक्षारोपणमा नेपालको भौगोलिक क्षेत्र भन्दा बाहिरका रूखहरू ल्याएर रोप्नु भन्दा अगाडि त्यस्ता प्रजाति मिचाहा हुन सक्छन् सक्दैनन् भनी यकिन गरिनु पर्दछ l  वन क्षेत्रमा  प्राकृतिक पुनरुत्पादनको प्रबर्द्धन गरौँ,  वृक्षारोपण गर्नुपर्ने स्थानमा  रैथाने  बोटबिरुवाको मात्र चयन गरौँ  र बाह्य प्रजाति अवलम्बन गर्नु  अगि वातावरणीय जोखिमकोमुल्यांकन  गरेर मात्र  गरौँ l अन्नपूर्ण पोस्टबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार