कमला भट्टराई – भद्रपुर । पछिल्लो समयमा सामाजिक तहमै कोरोनाको संक्रमण फैलिएको आकँलन भईरहेको प्रदेश १ का सुरक्षित मानिएका ‘हाई–प्रोफाइल’ पनि कोरोना भाइरसको चपेटाबाट बच्न सकेनन् ।
अहिलेसम्म प्रदेशका करिब आधा दर्जन ‘हाई–प्रोफाइल’ लाई कोरोना संक्रमण भईसकेको छ । जसमध्ये केही संक्रमण मुक्त भएपनि केही ‘हाई–प्रोफाइल’ अहिले पनि होम आइसोलेसनमा रहेका छन । जसमा सबैभन्दा माथिल्लो तहका ‘हाई–प्रोफाइल’ मा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे रहेका छन ।
उनमा सोमबार कोरोना संक्रमण पुष्टि भयो । भदौ १३ धनकुटा अस्पतालमा एक छलफल कार्यक्रममा सहभागी भई निवासमा फर्किएका उनलाई पखाला चलेको थियो । हल्का ज्वरोको लक्षण पनि थियो । त्यसपछि प्रदेश प्रयोगशालामा घिमिरेको स्वाब परीक्षण गरियो । रिपोर्टमा कोरोना देखियो ।
मन्त्री घिमिरे होम आइसोलेसनमा छन् । कोरोना भई मन्त्री घिमिरे स्वास्थ्य सुधारका लागि आराम गरिरहेको सामाजिक मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । शनिबार साँझदेखि निवासमै रहेका उनको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन कार्यमा मन्त्रीज्यूको महत्वपूर्ण भूमिका रहेको छ’ मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीद्वारा प्रकाशित विज्ञप्तिमा छ । घिमिरेमा कसरी र कहाँ कोरोना स¥यो भन्ने प्रस्ट हुन सकेको छैन ।
उदयपुरको भुल्केमा गत वैशख ६ गते एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूको व्यवस्थापनमा सक्रिय भएदेखि नै मन्त्री घिमिरे कोभिड अस्पताल निर्माण, आइसोलेसन सञ्चालन र क्वारेन्टिन व्यवस्थापनलगायत कार्यमा सक्रिय थिए । प्रदेशका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य र उनको परिवारमा पनि कोरोना संक्रमण भयो । होम आइसोलेसनमा आराम गरेसँगै कोरोना पराजित गरेका आचार्य अहिले भर्चुअल कार्यक्रममार्फत आफ्ना अनुभव आदान(प्रदान गरिरहेका छन् ।
कोरोनाबाट बच्न गर्नुपर्ने प्रयास र सामाजिक उत्तरदायित्व तथा स्थानीय सरकारले स्वास्थ्यबारे गर्नसक्ने कामको विषयमा सुझाव पनि दिइरहेका छन् । आचार्य भन्छन, ‘शारीरिक रूपमा बिरामी छुजस्तो महसुस नगर्दा, मानसिक रुपमा कोरोनासँग लड्न सहज हुनेरहेछ ।’ उनले मानसिक रुपमा रोगसँग लड्न आफू तयार भएकाले नै कोरोनालाई पराजित गर्न सजिलो भएको सुनाए । तनाव नलिन, बिरामीलाई सहानुभूति दिन र आफूलाई जे गर्दा मन रमाउँछ त्यही गर्न उनले सुझाव दिने गरेका छन् । भने, ‘मैले त एकदमै कम फोन कलहरू लिएँ । के गर्दा आफूलाई रिल्याक्स हुन्छ त्यही गर्नुपर्ने रहेछ । डिस्टेन्स मेन्टेन गर्ने गरी परिवारका तीनैजना होम आइसोलेसनमा बस्यौं । कोरोनासंग जुध्ने क्षमता बढेर गयो ।
सबैको लक्षण एउटै नहुने रहेछ । कसैलाई च्याप्ने रहेछ । कसैलाई नच्याप्ने पनि रहेछ । आत्मबल दह्रो बनाउने र सकारात्मक सोच्नुपर्छ । साथीभाइबाट आउने के सामान चाहिन्छ ? के ल्याइदिउँ ? भन्ने किसिमका विषयले बल मिल्ने रहेछ ।’ आचार्यले मेडिकल सपोर्ट लिएर होम आइसोलेसनमा बस्न सकिने तर स्वास्थ्य सुविधा आवश्यक परे स्थानीय तहमार्फत व्यवस्थापित ढंगले दिलाइनुपर्ने सुझाव दिएका छन् ।
उनले संक्रमितको घरबाट निस्किएको फोहोरलाई अलग्गै व्यवस्थापन गर्नुपर्ने, हेल्थडेस्क स्थानीय तहमा राख्नुपर्ने र होम आइसोलेनमा बसेकाहरूलाई चाहिने औषधि वितरणको चाँजोपाँजो व्यवस्थित ढंगले गर्न जरुरी भएको सुनाए । प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ दुई दिनअघि मात्र कोरोनामुक्त भइन् । उनी श्रीमानसँगै आइसोलेसनमा २४ दिन बसेर पुनःकोरोना परीक्षण गराएकी थिइन् । रिपोर्ट नेगेटिभ आयो ।
सामाजिक सञ्जालमा श्रेष्ठले ‘कठिन घडीमा साथ सहयोग सद्भाव र स्वास्थ्य सुधारको कामना गरी हौसला तथा मनोबल उच्च पार्न प्रेरणा दिने’ हरूप्रति आभार व्यक्त गरेकी छन् । श्रेष्ठमा सामान्य ज्वरो आएपछि परीक्षण गर्दा कोरोना देखिएको थियो । उनले सामाजिक सञ्जालमार्फत नै आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि कोरोना जचाउन सुझाव दिएकी थिइन् । भन्छिन्, ‘हामीले सहज रुपमा घरमै आइसोलेटेड भई कोरोनालाई परास्त गर्न सक्यौं । लक्षण नभएकाले स्वास्थ्य समस्या भएन ।’ रोग फैलन नदिन र आफू संक्रमित हुनबाट बच्न सावधानी अपनाउन आह्वान गरेकी छन् ।
विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीमा कडा लक्षणसहितको कोरोना संक्रमण देखियो । बीपी प्रतिष्ठान धरानमा भर्ना भएका उनी त्यहींबाट हेलिकोप्टर मगाएर काठमाडौंको टिचिङ अस्पतालमा थप उपचार गर्न गए । प्लाज्मा थेरापी गराएको केही दिनपछि उनले कोरोना जिते । लगत्तै उनी सामाजिक सञ्जालमा नाच्दै गरेको भिडियोमा देखिएका थिए । कार्कीकै स्वामित्वको विराट अस्पताल (विराट नर्सिङ होम) का चिकित्सक, नर्स र कर्मचारीमा पनि कोरोना देखियो । कार्कीकै अस्पतालबाट विराटनगरमा समुदायमा कोरोना फैलिएको आरोप पनि लाग्यो । त्यसलाई चिर्न कार्कीले मिडियामार्फत प्रस्टीकरण दिए । कोरोनाबाट जोगिन सावधानी अपाउन सर्वसाधारणलाई आग्रह गर्दै भने, ‘सावधानी अपनाउन लागु गरिएका नियम पालना गरे कोरोनाबाट बच्न सकिन्छ ।’
प्रदेश १ का मजदुर नेता किशोर धमला मंगलबार कोरोनामुक्त भई आइसोलेसन सेन्टरबाट घर फर्किएका छन् । उनको परिवारका अन्य सदस्यलाई समेत कोरोना देखिएको थियो । उनीहरू भने होम आइसोलेसनमै थिए । धमला घर पुग्दा छिमेकीहरूले फूलगुच्छा लिएर स्वागत गरे । धमला भन्छन्, ‘कोरोना संक्रमण फैलने हिसाबले खतरा रोग हो तर बिरामी परे कसैलाई पनि छिछी–दूरदूर गर्नु हुन्न । बरु सहयोग गरिनुपर्छ । सकारात्मक सोच राख्यो भने कोरोना सहजै जित्न सकिने रहेछ ।’,