अभिषेक खतिवडा / हल्दिवारी — विद्यार्थी राजनीतिमा लामो समय सक्रिय झापा हल्दिबारीका युवा नेता बलराम गिरी वैदेशिक रोजगारीका लागि इजरायल प्रस्थान गरेका छन् । विद्यार्थी आन्दोलन र स्थानीय सामाजिक गतिविधिमा स्थापित नाम गिरी हिजो (शनिबार) रोजगारीका लागि त्यसतर्फ उडेका हुन् ।
तत्कालीन अनेरास्ववियु झापा जिल्ला कमिटीको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका गिरी नेकपा एमाले हल्दिबारी गाउँ कमिटीअन्तर्गत वडा कमिटी सचिव समेत रहेका थिए । युवा माझ राजनीतिक चेतना, अनुशासन र सामाजिक उत्तरदायित्व फैलाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी पछिल्लो समय देशमै सम्भावना खोजी गरिरहेका थिए ।
लामो समय देशमै केही गर्ने सपना र हुटहुटीका साथ संघर्ष गरे पनि राज्यको नीति र अस्थिर प्रणालीका कारण भविष्य सुरक्षित नदेखेपछि उनी बाध्य भएर परदेशिनु परेको गिरीका निकटस्थहरू बताउँछन् । गाउँ-समाजमा हुने सामाजिक, शैक्षिक तथा राजनीतिक गतिविधिमा उनको सक्रिय र अग्रणी उपस्थिति रहने गरेको स्थानीयको भनाइ छ ।
इजरायल प्रस्थान गर्नुअघि गिरीले सामाजिक सञ्जालमार्फत आफ्नो बाध्यता र भावना सार्वजनिक गरेका छन् । ‘देशमै केही गर्ने सपना बोकेर संघर्ष गरेँ, सबैको माया र साथलाई सधैं सम्मानका साथ सम्झिरहनेछु,’ उनले लेखेका छन्, ‘आज परिस्थितिले परदेशको बाटो देखाए पनि मेरो मन सधैं देश र परिवारमै अडिएको छ । एक दिन अझ मजबुत भएर फर्किने र फेरि यहाँबाट नयाँ यात्रा सुरु गर्नेछु ।’
राजनीतिक नेतृत्वले भाषणमा ‘समृद्ध नेपाल’ को नारा फलाकिरहँदा गाउँ-गाउँबाट सम्भावना र ऊर्जा बोकेका युवाहरू यसरी नै बाहिरिने क्रम रोकिने छाँटकाँट छैन । गिरीको बहिर्गमन पनि नेपाली राजनीति र सामाजिक परिवेशको एउटा प्रतिनिधि दृश्य मात्रै हो ।
नयाँ तथा पुराना भनिएका राजनीतिक दलहरूले युवा लक्षित व्यवहारिक नीति, रोजगारी सिर्जना र उचित वातावरण निर्माणमा बेलैमा ध्यान नदिने हो भने गाउँहरू युवाविहीन बन्ने र ऊर्जावान् पुस्ता पलायन हुने क्रम अझ भयावह बन्ने निश्चित देखिन्छ ।

















