काँकरभिट्टा, झापा ।झापाको मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर अगाडिबाट प्रहरीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको अवैध मालसामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको सुरक्षा टोलीले नियमित चेकजाँच तथा गस्ती गर्ने क्रममा सो परिमाणको सामान फेला पारेको हो।
चैत २१ गते साँझ ६ बजेको समयमा भारतबाट अवैधरूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरिएका विभिन्न किराना सामग्रीहरू प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद गरिएका उक्त सामानहरूको बजार मूल्य अन्दाजी दुई लाख २२ हजार एक सय ५६ रुपैयाँ कायम गरिएको छ।
अवैध रूपमा भित्र्याइएका ती किराना सामग्रीहरूलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। बरामद गरिएका सम्पूर्ण सामानहरू हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। प्रहरीले उक्त घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानीलाई थप सक्रिय बनाएको छ।
















