झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजार क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले आज २०८२ चैत २१ गते साँझ ६ बजेको समयमा भारतबाट नेपालतर्फ पैदल आइरहेका व्यक्तिहरूलाई शंका लागेर रोकी खानतलासी गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद भएको हो।
प्रहरीले खानतलासी गर्ने क्रममा झापाको बिर्तामोड नगरपालिका–८ गरामनी बस्ने २८ वर्षीय किरण श्रेष्ठको साथबाट २ ग्राम ६० मिलिग्राम, सोही ठाउँका २८ वर्षीय अविशेक लिम्बुको साथबाट १ ग्राम १७० मिलिग्राम र मोरङको लेटाङ नगरपालिका–५ बस्ने २५ वर्षीय सरोज थापाको साथबाट १ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको छ। प्रहरीले उनीहरूबाट जम्मा ४ ग्राम ६९ मिलिग्राम लागुऔषध बरामद गरेको हो। लागुऔषधसहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
















