झापा । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनमा आँपको रुखमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको छ।
प्रहरीका अनुसार मृतकहरू रामनगर गाउँपालिका–६ निवासी विनोद दासकी करिब १७ वर्षीया छोरी संगीता दास र सोही स्थानका इन्द्रजित दासकी करिब १८ वर्षीया छोरी नागिना दास हुन्।
दुवै जनाको शव एउटै हाँगामा प्लास्टिकको डोरीको पासो लगाइएको अवस्थामा भेटिएको सर्लाही प्रहरीका प्रवक्ता तथा डिएसपी सरोज राईले बताएका छन्।
घटनाबारे बुधबार साँझ करिब ६ बजेतिर सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदमबहादुर खड्काको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा पुगेको थियो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बिन्देश्वरप्रसाद यादवको नेतृत्वमा फरेन्सिक टोलीसहित थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दुवै किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
















