झापा । हात्तीपाइलेजस्तो दीर्घकालीन र अपाङ्गता निम्त्याउने रोगको नियन्त्रणका लागि झापाका हल्दिबारीसहित ६ पालिकामा सामूहिक औषधि सेवन अभियान सञ्चालन गरिएको छ । कचनकवल र झापा गाउँपालिकाबाट सुरु भएको अभियान बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिकामा विस्तार गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दाशका अनुसार ती पालिकामा अझै संक्रमण देखिएकाले अभियानलाई निरन्तरता दिनुपरेको हो । “संक्रमणको दर घट्दै गएको छ तर पूर्ण नियन्त्रणमा आएको छैन,” उनले भने, “रोगको सर्कुलेसन रोक्न सबै लक्षित जनसंख्याले औषधि सेवन गर्नु अनिवार्य छ ।”
यसपटक जिल्लामा करिब २ लाख ८२ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ । पालिकागत रूपमा कचनकवलमा ४१ हजार १४९, झापा गाउँपालिकामा ४० हजार ३, बाह्रदशीमा ३६ हजार ३३३, हल्दिबारीमा ३१ हजार ५३१ र कनकाई नगरपालिकामा ५२ हजार ९५४ जनालाई औषधि खुवाइने कार्यक्रम छ ।
विश्व स्वास्थ्य संगठनका कार्यक्रम अधिकृत रविन्द्र खनियाका अनुसार जिल्लामा अझै २ हजार २६९ जनामा हात्तीपाइलेको संक्रमण पुष्टि भएको छ । तीमध्ये ८४६ जनामा हातखुट्टा सुनिने समस्या, १ हजार ३५२ जनामा हाइड्रोशील र ७१ जनामा दुवै लक्षण देखिएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार करिब १ प्रतिशत व्यक्तिले अरूलाई रोग सार्ने अवस्था कायमै छ भने १० दशमलव ५ प्रतिशत व्यक्तिको शरीरमा वयस्क परजीवी सक्रिय अवस्थामा रहेको पाइएको छ । यो झापामा १४औँ पटक सञ्चालन भएको सामूहिक औषधि सेवन अभियान हो, जसका लागि करिब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि राम रोकायका अनुसार नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । सबै लक्षित जनसंख्याले औषधि सेवन गरे झापालाई पनि छिट्टै हात्तीपाइलेमुक्त जिल्ला घोषणा गर्न सकिने स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।








