हल्दीबारी, झापा | हल्दीबारी गाउँपालिकाले बजार अनुगमन अभियान सुरु गरेसँगै हल्दीबारी–४ मङ्गलबारे बजारका तीन किराना पसलमा म्याद गुज्रिएका तथा अखाद्य सामग्री फेला परेको छ।
राजवंशी किराना पसल, खरेल किराना पसल र अल पसलमा म्याद गुज्रेका सामग्रीहरू बिक्री वितरण हुँदै आएको पाइएपछि ती पसलधनीलाई पहिलोचोटि चेतावनी दिँदै तीन दिनभित्र सबै अखाद्य वस्तु हटाउन निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आजदेखि बजार अनुगमन सुरु गरेको हो। गोलधाप बजार, बडाबारी बजार, कञ्चनश्री बजार, ढडुवा बजार, पाराखोपी बजार र स्कुलचोक बजार समेतका पसलहरूको पनि क्रमशः अनुगमन गरिने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो।
आजको अनुगमनमा २० भन्दा बढी पसल जाँच गरिएको थियो। केही पसलहरू बिना कागजपत्र सञ्चालनमा रहेको पाइएको छ भने, अनुगमन टोली आएको थाहा पाउनासाथ केही पसलधनीहरू पसल बन्द गरी भागेका थिए।
पसलहरूलाई मूल्यसूची, होल्डिङ बोर्ड, बिल/रसिद र अन्य आवश्यक कागजातहरू १५ दिनभित्र गाउँपालिकामा बुझाउन निर्देशन दिइएको छ।
अनुगमन टोलीले मंगलबारे बजार क्षेत्रका किराना , हार्डवेयर , कपडा, खाजा घर, मासु पसलहरू, कपडा पसलहरू, सैलुन लगायतका पसलहरूको अनुगमन गरी आवश्यक सुधारका लागि निर्देशन दिएको थियो।
गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत वनसहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो।















