झापा – हल्दीबारी / शिक्षा दिने व्यक्तिबाट नै जब गैरजिम्मेवार व्यवहार देखिन्छ, तब त्यसको असर केवल विद्यालयभित्र मात्रै सीमित रहँदैन, समाजमै झल्किन थाल्छ।
झापाको हल्दीबारी–३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका शिक्षक प्रकाश भट्टराईले सञ्चालन गर्दै आएको किराना पसलमा म्याद गुज्रेका खाद्य सामग्री फेला परेका छन्। गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा ‘अलपसल’ नामक पसलबाट अखाद्य सामग्री बरामद भएपछि उनी विवादमा तानिएका हुन्।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर १५ दिनअघि नै अनुगमन हुने जानकारी दिएको थियो। सोही सूचना सार्वजनिक हुँदाहुँदै शिक्षककै पसलमा म्याद गुज्रेका सामान भेटिनुले उनीप्रति स्थानीय स्तरमा प्रश्न उठेको छ।
पसलमा अनुगमन टिम पुग्दा म्याद सकिएको विभिन्न किसिमका मसला, बच्चाहरूले खाने चिप्स लगायतका सामग्री भेटिएको थियो। शिक्षक भट्टराईले सामाजिक सञ्जाल मार्फत त्रुटि भएको स्वीकार्दै साथै, समाचार सार्वजनिक भएपछि उनले हल्दीबारी डट कम का सम्पादकप्रति व्यक्तिगत आरोप लगाउँदै “रिसिबीको न्युज” भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
उनको यस्तो अभिव्यक्तिले आलोचना थपिएको छ। “एक शिक्षकबाट यस्तो गैरजिम्मेवार व्यवहारको अपेक्षा गरिंदैन,” एक स्थानीय अभिभावकले भने, “सामग्रीको म्याद जाँच गर्नु जस्तो सामान्य सावधानीसमेत नअपनाउनु लापरवाही मात्रै होइन, स्वास्थ्यसम्बन्धी गम्भीर जोखिम हो।”
शिक्षक भट्टराईले चलाएको पसलमा यस्तो त्रुटी देखिनु, त्यसपछि पत्रकारमाथि आरोप लगाउनु, अनि नैतिक जिम्मेवारीबाट पन्छिन खोज्नु — यी सबै मिलेर समाजमा शिक्षकको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।















