हल्दिवारी ,झापा – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार झापा गोल्डकप लगायत विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला झापा आउनुहुने भएको छ ।
झापा विद्रोहका क्रममा तत्कालिन विद्रोही मालेका शिर्ष पाँच नेताको हत्या भएको दिन फागुन २१ गते पारेर उनी झापा आउन लागेका हुन् । यस दिनलाई एमालेले सुखानी सहिद दिवसको रुपमा मनाउने गरेको छ । भद्रपुर विमानस्थल हुँदै आउने ओली झापा आए लगत्तै तिनै सहिदहरुको स्मृतिमा अर्जुनधारामा निर्माण गरिएको सहिद पार्क पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यतालिका रहेको छ ।
यसपछि उनी आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाउँपालिका आउने छन् । त्यहाँ उनले रतुवा र मावा खोलाका विभिन्न स्थानमा गरिने तटबन्धन तथा बाँध निर्माणको संयुक्त शिलान्यास गर्ने छन् ।
कमल गाउँपालिका वडा नं. ६ स्थित खयरवारीमा यो कार्यक्रम हुने तय भएको छ । शिलान्यास स्थलको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, वडाअध्यक्ष नरेन्द्र भट्टराई, एमाले नेता होमबहादुर थापा एवम् बाँध निर्माणको नियमन निकाय जनताको तटबन्धन कार्यालयका प्रतिनिधीहरुले अवलोकन गरेका छन् ।
ओलीले शनिबार नै प्रेस चौतारी प्रदेश १ को अधिवेशन तथा नेपाल खेलकुद महासंघको प्रदेश स्तरीय कार्यक्रमलाई विर्तामोडमा सम्बोधन गर्नेछन् । यसैगरी शनिबार नै उनले झापा गोल्डकपको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको जिल्ला प्रचार तथा प्रकाशन बिभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिएका छ्न ।