छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ सिन्धुली टोलस्थित सडकमा रोकी रहेको ना-२ ख ८६२४ नम्बरको ट्रकमा लु-८३ प ८६५१ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना पुरूषको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै भक्तपुर, मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा बा।४ ख ८५८१ नम्बरको टिपर र बा। प्र ०२-०२३ प ७७६९ नम्बरको स्कुटर एकआपसमा ठोक्कर खाई गएराति दुर्घटना हुँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका-३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी अर्घाखाँची, सन्धिखर्क नगरपालिका-८ छेँडास्थित सडकमा लु-११ प ८६३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै दार्चुला, शैल्यशिखर नगरपालिका-२ स्थित सडकमा ना-५ ख १८०८ नम्बरको बसले किच्दा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडीको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरुपमा क्षति भएको छ ।
यता सर्लाही, बसवरिया गाउँपालिका-४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए१५४६ नम्बरको डिजे रथको ठक्करबाट सोही ठाउँस्थित मामा घर बस्ने गोडैता नगरपालिका-११ सिसौटिया घर भएकी प्रेमलाल पंडितकी छोरी ७ वर्षीया लक्ष्मीनिया पंडितको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि स्थानिय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।